काठमाडौं-नेपाली कांग्रेसको प्रवक्तामा प्रकाशशरण महत नियुक्त भएका छन् । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार महतलाई पार्टीको प्रवक्तामा नियुक्त गरेका हुन् ।
देउवाले महतलाई सोमबार बिहान प्रवक्ता मनोनयन गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पूर्वसहमहामन्त्री महत यसअघि मंसिरमा भएको १४ औं महाधिवेशनमा पार्टीको महामन्त्रीका प्रतिस्पर्धी थिए । उनलाई सभापति देउवाले केन्द्रीय सदस्य मनोनित गरेका थिए । विधानअनुसार सभापतिले पार्टीको प्रवक्ता नियुक्त गर्न पाउने व्यवस्था छ । त्यहीअनुसार देउवाले पार्टीको प्रवक्तामा महतलाई नियुक्त गरेका हुन् ।
काँग्रेसको विधानमा प्रवक्तालाई पदाधिकारी सरहको हैसियत दिइएको छ । विश्वप्रकाश शर्मा काँग्रेस महामन्त्रीमा निर्वाचित भएपछि सो पद रिक्त भएको थियो । महत काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए । उनलाई केन्द्रीय सदस्य मनोनयन गरी केन्द्रीय कार्यसम्पादन समितिको सदस्य बनाइएको छ ।
देउवाका परराष्ट्र र आन्तरिक राजनीतिका रणनीतिक सहयोगीसमेत रहेका महत पूर्वपरराष्ट्रमन्त्री समेत हुन् ।



विश्व खबर 


















