images
images
  • सात महिनापछि ओली प्रधानमन्त्री निवास बालुवाटारमा, एमसीसीबारे वार्ता सुरु

    काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सात महिनापछि औपचारिक रूपमा एउटै बैठकमा आम्नेसाम्ने भएका छन् । ओली प्रधानमन्त्रीबाट हटेपछि प्रचण्डसँग औपचारिक भेटवार्ता गरेका थिएनन् ।

    अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा प्रमुख दलका अध्यक्षबीच भेटावार्ता सुरु भएको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गाविन्द परियारले जानकारी दिए ।

    भेटवार्तामा सरकारका प्रवक्ता एवं सूचना प्रविभि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमाले महासचिव शंकर पोखरेलसमेत उपस्थित छन् ।

    यसबीचमा सम्पन्न भएका एमाले महाधिवेशनमा प्रचण्ड गएका थिएनन् भने माओवादीको महाधिवेशनमा ओली गएका थिएनन् । महाधिवेशनमा दुवै पार्टीले दुवै नेतालाई निम्तो दिएका थिए ।

    नेपाली कांग्रेसको मंसिरमा भएको महाधिवेशनमा भने प्रचण्ड र ओली एउटै मञ्चमा उपस्थित भएका थिए । कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन कार्यक्रममा ओली र प्रचण्ड एकै मञ्चमा उपस्थित भए पनि औपचारिक कुराकानी भएको थिएन ।

    प्रचण्डको कारण गत असार २८ गते ओलीले बालुवाटार छोड्नु परेको थियो । प्रचण्ड र माधव कुमार नेपालका कारण तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको थियो जसको अध्यक्ष ओली र प्रचण्ड रहेका थिए । अदालतले पार्टी एकता गरेका एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएको थियो ।

    त्यसपछि तत्कालीन एमाले नेता माधव कुमार नेपालले एमालेबाट अलग भई नेकपा (एकीकृत समाजवादी) पार्टी स्थापना गरेका थिए । ओलीले गरेको संसद् विघटनलाई प्रचण्ड र नेपालले समर्थन नगरेपछि ओली प्रधानमन्त्रीको कुर्सीबाट हट्नु परेको थियो ।

    प्रधानमन्त्रीबाट हटेपछि ओली र प्रचण्डबीच प्रत्यक्ष औपचारिक भेटवार्ता भएको थिएन । आज प्रधानमन्त्री देउवाले समसामयिक विषयमा छलफल बालुवाटार बोलाएपछि ओली र प्रचण्ड आम्नेसाम्ने भएका हुन् ।

    यो सात महिनाको अवधिमा ओलीले प्रचण्डको र प्रचण्डले ओलीको आलोचना गर्दै आएका थिए ।

    आजको बैठकमा स्थानीय तहको निर्वाचनको सम्बन्धमा छलफल हुने एमाले उपमहासचिव विष्णु रिमालले बताएका छन् ।

    तीन प्रमुख पार्टीका अध्यक्षहरूको बैठक यस्तो दिनमा भइरहेको छ जुन दिन देउवा र प्रचण्डले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएको छ । पत्रमा देउवा र प्रचण्डले एमसीसी नेपालको संसदबाट फागुन १७ गते भित्र अनुमोदन गर्ने प्रतिबद्धता गरेका थिए । बालुवाटार स्रोतका अनुसार आजको बैठकमा एमसीसी र पत्रका विषयमा पनि छलफल हुने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images