काठमाडौं- सरकारले आगामी २०७९ जेठ ४ गते एकै चरणमा स्थानीय तह निर्वाचन गर्ने भएको छ। निर्वाचन आयोगका पदाधिकारीसँग मंगलबार बालुवाटारमा भएको छलफलमा आगामी जेठ ४ गते स्थानीय तह निर्वाचन गर्ने टुंगो भएको हो।
प्रधानमन्त्रीसँगको छलफलका क्रममा जेठ ५ गतेको डेडलाइन क्रस नहुने गरी प्रमुख आयुक्त दिनेश थपलियाले जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेका थिए।
आयोगको उक्त प्रस्ताव अनुसार प्रधानमन्त्री देउवा निर्वाचन गराउन तयार भएका छन्। उनले जेठ ४ गतेको निर्वाचन मितिलाई मन्त्रिपरिषद्बाट निर्णय गराउने बताउँदै आयोगलाई आवश्यक तयारी थाल्न पनि निर्देशन दिएका छन्।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको प्रस्ताव अनुसार नै प्रधानमन्त्री जेठ ४ गते स्थानीय निर्वाचन गराउन तयार भएको बताए। जेठ ४ गते बुधबार एकै चरणमा स्थानीय तह निर्वाचन गर्ने आयोगले राखेको प्रस्ताव प्रधानमन्त्रीबाट सदर भएको छ, यसबारेमा उहाँले मन्त्रिपरिषद्बाट निर्णय लिने बताउनु भएको छ- थपलियाले भने
उनले परामर्शका क्रममा प्रधानमन्त्रीले जेठ ४ मै निर्वाचन गर्ने गरी आवश्यक तयारी थाल्न पनि निर्देशन दिएको बताए।
प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले जेठ ४ मा स्थानी तह निर्वाचन गर्ने गरी प्रधानमन्त्री र आयोगका अधिकारीबीच छलफल भएको बताएका छन्। स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते एकै चरणमा गर्ने विषयमा सरकार र निर्वाचन आयोगबीच छलफल भएको छु, उनले भने।
निर्वाचन आयोगले यसअघि नै स्थानीय तहको निर्वाचन आगामी वैशाख १४ र २२ गते दुई चरणमा गर्न प्रस्ताव गरिसकेको छ।
आयोगले जेठ ५ बाट उता नजाने गरी स्थानीय तह निर्वाचनका लागि मिति घोषणा गर्न पटक पटक सरकारलाई आग्रह गरेको थियो।
आयोगको प्रस्ताव अनुसार नै सरकारले माघ पहिलो साता मिति घोषणा गरिसक्नुपर्ने थियो। तर सरकारले संविधानसँग स्थानीय निर्वाचन कानुन बाझिएको भन्दै पहिले संशोधन गर्नुपर्ने बताउँदै आएको छ।
पाँच दलीय गठबन्धनले पनि पहिले कानुन संशोधन गरेपछि मात्रै मिति घोषणा गर्नुपर्ने निर्णय लिइसकेको छ।
यस्तोमा देउवाले स्थानीय तह निर्वाचन जेठमै गर्ने गरी छलफल गरेका हुन्। देउवाले सोमबार कांग्रेसको बागमती प्रदेश कमिटी सभापति इन्द्र बानियाँसहितसँग भएको भेटका क्रममा स्थानीय निर्वाचन जेठ ४ गते एकै चरणमा गर्ने बताएका थिए।
उनले त्यसका लागि केही दिनमै मिति घोषणा गरिने पनि जानकारी दिएका थिए। सरकारलाई स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न प्रमुख प्रतिपक्षी एमालेसहितले दबाब दिइरहेका बेला देउवाले आयोगसँग छलफल गर्न लागेका हुन्। नेपाल खबरबाट


विश्व खबर 



















