images
images
  • क्रान्तिकारी माओवादीले माघ २१ मा देशव्यापी विरोध प्रदर्शन गर्ने

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले माघ २१ गते देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने भएको छ । देशको राष्ट्रिय स्वाधीनताको रक्षा तथा सार्वभौमिकताको प्रश्न गम्भीर बन्दै गएको भन्दै खबरदारी स्वरुप सो पार्टीले विरोध प्रदर्शन गर्न लागेको हो ।

    पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले विज्ञप्ति जारी गर्दै एकातिर अमेरिकी साम्राज्यवादले एमसीसी परियोजना थोपर्ने धृष्टता गर्दै आएको र अर्कोतिर भारतीय विस्तारवादले लिपम्पयाधुरा, कालापानी, लिपुलेक क्षेत्रमाथि निर्लज्ज अतिक्रमण गरेको जनाएका छन् । गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस संसदबाट एमसीसी पारित गराउन लागि परेको तथा अतिक्रमित लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाउँदा र त्यसको विस्तार गर्दा पनि पाँच दलीय गठबन्धन सरकारले आधिकारिक तथा औपचारिक रुपमा कुनै प्रतिवाद नगरेको उनको भनाइ छ ।

    सरकारले नेपाली भूभागमा भएको भारतीय अतिक्रमण रोक्न तथा नेपाली भूभाग फिर्ता ल्याउनका लागि कुनै पनि कूटनीतिक तथा राजनीतिक पहल नगरी मौनता साधेर बसेको भन्दै उनले यो स्वाभिमानी नेपालीका लागि गम्भीर चिन्ताको विषय भएको जनाएका छन् । उक्त अवस्थामाथि विशेष ध्यान दिँदै माघ १५ मा सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को स्थायी समिति बैठकले देशको राष्ट्रिय स्वाधीनताको रक्षा र सार्वभौमिकताको विषयमा सङ्घर्षलाई एकल तथा संयुक्त रुपमा अझै विकसित तुल्याउँदै जानुपर्ने आवश्यकतालाई आत्मसात गरेको महासचिव किरणले जानकारी दिएका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images