काठमाडौं- कोभिड महामारी र तरलता अभावकै बिच पनि पुस महिनामा देशभर ७० हजार १६८ घरजग्गा किनबेच भएका छन् । यो संख्या अघिल्लो महिना मंसिरको तुलनामा साढे सात सयले बढी हो ।
कोभिडको बढ्दो ग्राफ र तरलता संकटले घरजग्गा किनबेचमा त्यति असर नगरेको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ । अहिले देशभरी गरिएको पिसिआर परिक्षणमा आधाभन्दा बढीलाई कोभिड देखिदै आइरहेको छ ।
पुस महिनामा देशभरीका मालपोत कार्यालयले घरजग्गा किनबेचसहित विभिन्न शिर्षकमा १ लाख ५७ हजार १३८ सेवा प्रवाह गरेका छन् । यो सेवा प्रवाहबाट ६ अर्ब ७० करोड ४२ लाख रुपैयाँ कुल राजश्व असुली भएको छ । अघिल्लो महिना मंसिरमा ७ अर्ब ६ करोड ६५ लाख राजश्व असुली भएको थियो ।
पुसमा घरजग्गाा किनबेच सामान्य बढे पनि राजश्व भने अघिल्लो महिनाको तुलनामा करीव २६ करोड रुपैयाँ कम उठेको विभागले जनाएको छ ।
पुसमा पनि सुनसरीको इनरुवा (इटहरी) सबैभन्दा बढी घरजग्गा किनबेच गर्ने मालपोत कार्यालय बन्न सफल भएको छ । इनरुवा मालपोतबाट पुसमा ३२ सय ५० घरजग्गा किनबेच भएका छन् भने दोस्रो नम्बरमा रहेको मोरङको बेलवारी मालपोतबाट ३ हजार ५९ घरजग्गा किनबेच भएका छन् ।
झापाको भद्रपुर मालपोतबाट २७ सय ५५, झापाकै दमकमा १४ सय ३४, जनकपुरको धनुषामा २२ सय ७६, ललितपुरमा १९ सय ६५, भक्तपुरमा २ हजजार ८५, कलंकीमा १६ सय ९९, चितवनमा १६ सय ७४ र बाँकेमा २४ सय ११ घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।
विभागका अनुसार, पुस महिनामा ३४ हजार ५३ घरजग्गा रोक्का गरिँदा २३ हजार घरजग्गा फुकुवा भएका छन् ।
पुसमा देशभरीका मालपोत कार्यालयबाट ४ अर्ब ११ करोड ८० लाख रुपैयाँ रजिष्ट्रेसन शुल्क संकलन भएको छ । यस्तै, १ अर्ब ४७ करोड ८१ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन हुँदा २४ करोड ४५ लाख रुपैयाँ सेवा शुल्क असुली भएको छ ।


विश्व खबर 




















