images
images
  • प्रतिनिधिसभा विघटनविरुद्ध रिट लिएर विपक्षी गठबन्धन पुगे सर्वोच्चमा

    काठमाडौं । प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाको विरोध तथा संविधानको धारा ७६ (५) बमोजिम शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषणाको माग गर्दै विपक्षी गठबन्धनका शीर्ष नेता सर्वोच्च अदालत पुगेका छन् ।

    विपक्षी गठबन्धन नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र जसपाका नेता उपेन्द्र यादव सहितका नेताहरु सर्वोच्च अदालत गएका हुन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका सबै सांसद अदालतमा उपस्थित छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेको हुनाले विपक्षीले संसदले पुनस्र्थापना गर्न माग गरेका छन् ।

    राष्ट्रपतिले धारा ७६(५) अन्तर्गतको सरकार गठनका लागि आह्वान गरेपछि उनीहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न १ सय ४९ सांसदको बहुमत हस्ताक्षरसहित दावी गरेका थिए । तर, राष्ट्रपतिले जेठ ७ मा राति ‘दाबी नपुग्ने’ भनेपछि सरकारको सिफारिसमा उनले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

    विपक्षीले रिटमा संविधानको धारा ७६(३) अनुसार नियुक्त प्रधानमन्त्री केपी ओलीले बहुमत जुटाउन नसकेपछि राष्ट्रपतिकहाँ सिफारिस गरेको र राष्ट्रपतिले धारा ७६(५) अनुसार सरकार गठनका लागि आह्वान गरिसकेको अवस्थामा केपी ओलीको वैधानिकता समाप्त भएको जिकिर गरेका छन् ।

    उनीहरुले सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्नुपर्ने माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images