images
images
  • एमाले सीमित व्यक्तिमा केन्द्रित हुँदै गएको भन्दै महासचिव पोखरेलको असन्तुष्टि (पूर्णपाठ)

    काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीभित्र नेतृत्वको कार्यशैली, शक्ति केन्द्रीकरण, अवसर वितरण र आन्तरिक लोकतन्त्रको अवस्थामाथि गम्भीर प्रश्न उठाएका छन् ।

    उनले सीमित व्यक्तिको प्रभाव बढ्दै गएको, नेतृत्वको वरिपरि घुम्नेहरूले अवसर पाउने गरेको भन्दै आलोचना घुमाउरो तरिकाले अध्यक्ष ओलीको कार्यशैली प्रति असन्तुष्टि जनाए ।

    बुधबार राजधानीमा सुरु भएको राष्ट्रिय भेलामा प्रस्तुत गरेको ‘शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारी’ सम्बन्धी राजनीतिक तथा संगठनात्मक दस्तावेजमा पोखरेलले पार्टीभित्र मौलाउँदै गएको नेतृत्व केन्द्रित प्रवृत्ति, सामूहिक निर्णय प्रक्रियाको कमजोरी र आलोचना गर्न नसक्ने वातावरणप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

    तर पार्टी सञ्चालनमा र पदाधिकारीहरूको जिम्मेवारीसमेत स्पष्ट नभएको उल्लेख गर्दै नेतृत्वको कार्यशैलीमाथि अप्रत्यक्ष प्रश्न उठाएका छन् ।

    ‘संगठनात्मक र वैचारिक काममा खटिनेभन्दा अवसरका लागि नेतृत्वको वरिपरि घुम्ने प्रवृत्तिले प्राथमिकता पाएको अनुभूति कार्यकर्तापङ्क्तिमा देखिन्छ,’ पोखरेलले दस्तावेजमा भनेका छन्।

    उनले पार्टीभित्र कार्यकर्ताको मूल्यांकन वैज्ञानिक, वस्तुनिष्ठ र कार्यसम्पादनमा आधारित हुन नसकेको पनि स्वीकार गरेका छन् ।

    जिम्मेवारी, पदोन्नति, अवसर तथा उम्मेदवार छनोटका विषयमा असन्तुष्टि उत्पन्न हुँदा त्यसलाई समयमै सुन्ने र समाधान गर्ने प्रणाली कमजोर रहेको उनको निष्कर्ष छ ।

    पोखरेलले पार्टीको बहुपदीय संरचना प्रभावकारी हुन नसकेको विषयलाई पनि उठाएका छन् ।

    नेतृत्व विकास, हस्तान्तरण र पुस्तान्तरणको सहज प्रणाली निर्माण गर्ने उद्देश्यले बहुपदीय संरचना अपनाइए पनि व्यवहारमा त्यसको प्रभावकारी अभ्यास हुन नसकेको उनको टिप्पणी छ ।

    ‘बहुपदीय संरचना विकास भए पनि सबै पदाधिकारीको कार्यविभाजन स्पष्ट नहुँदा कतिपय जिम्मेवारी सीमित व्यक्तिमा केन्द्रित हुने र कतिपय पदाधिकारी जिम्मेवारीविहीन हुने अवस्था देखिएको छ,’ दस्तावेजमा भनिएको छ ।

    उनले पुरानो र नयाँ पुस्ताबीच विश्वास, समझदारी र सहकार्य कमजोर हुँदा त्यसको असर पार्टी निर्माणमा परेको उल्लेख गरेका छन् ।

    सम्भावनायुक्त कार्यकर्ताको पहिचान, प्रशिक्षण, जिम्मेवारी र पदोन्नतिको व्यवस्थित प्रणाली बनाउनुपर्ने उनको प्रस्ताव छ ।

    पोखरेलले पार्टीभित्र आलोचना र आत्मालोचनाको संस्कृति कमजोर हुँदै गएको विषयलाई पनि प्रमुखताका साथ उठाएका छन् ।

    कमिटीभित्र खुला छलफल, स्वस्थ बहस र आलोचना गर्ने वातावरण कमजोर भएको तथा सुझाव वा आलोचनालाई व्यक्तिगत आक्षेपका रूपमा लिने प्रवृत्ति बढेको उनको भनाइ छ ।

    ‘यसले कार्यकर्तालाई कमिटीभित्र बोल्न असहज बनाएको छ र असन्तुष्टि सामाजिक सञ्जाल वा अनौपचारिक वृत्तमा अभिव्यक्त हुने गरेको छ,’ उनले दस्तावेजमा उल्लेख गरेका छन् ।

    उनले आलोचना र आत्मालोचनालाई दण्डको भयबाट मुक्त गर्दै सुधारको माध्यम बनाउनुपर्ने बताएका छन् ।

    पार्टीभित्र असहमतिलाई विरोधका रूपमा बुझ्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको जोड छ ।

    ‘असहमति पार्टीको शक्ति हो,’ पोखरेलले पार्टी सुदृढीकरणका लागि प्रस्ताव गरेका १५ काममध्ये आन्तरिक संवाद र अनुशासनको सन्तुलनसम्बन्धी बुँदामा भनेका छन् ।

    उनले पार्टीका नेता तथा कार्यकर्ताले आफ्ना कुरा सहज रूपमा राख्न सक्ने, खुला छलफल र बहस गर्न सक्ने तथा असहमतिलाई सम्मानपूर्वक व्यवस्थापन गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।

    पोखरेलले पार्टीको विगतको छवि र पछिल्लो अवस्थाको तुलना गर्दै एमालेभित्र अनुशासन, जीवनशैली र आचरणका क्षेत्रमा गम्भीर विचलन देखिन थालेको बताएका छन् ।

    एमाले विगतमा अनुशासन, नैतिक सदाचार र सादगीका कारण नेपाली कम्युनिस्ट आन्दोलनको मूलप्रवाहका रूपमा स्थापित भएको उनले बताएका छन् ।

    तर पछिल्लो समयमा कतिपय नेता तथा कार्यकर्ताको आर्थिक जीवन भड्किलो हुँदै गएको र नैतिक आचरणमाथि गम्भीर प्रश्न उठ्ने गरेको छ ।

    ‘आर्थिक अपराध, अनियमितता तथा यौनजन्य गतिविधिसँग जोडिएका घटना र आरोप सार्वजनिक रूपमा उठ्दा तिनको संस्थागत छानबिन तथा तथ्यपूर्ण प्रतिवाद पर्याप्त रूपमा हुनसकेको छैन,’ उनले लेखेका छन् ।

    आरोप सत्य वा असत्य जे भए पनि निष्पक्ष छानबिन, तथ्यमा आधारित निर्णय र आवश्यकताअनुसार कारबाहीको प्रक्रिया स्थापित गर्नुपर्ने उनको प्रस्ताव छ ।

    उनले पार्टी शुद्धीकरण कसैलाई निषेध गर्ने माध्यम बन्न नहुने भन्दै एकै प्रकृतिका घटनामा दोहोरो मापदण्ड अपनाउन नहुने पनि उल्लेख गरेका छन् ।

    नेता तथा कार्यकर्ताको सम्पत्ति स्वघोषणा अनिवार्य गर्नुपर्ने, जनप्रतिनिधिमूलक निकायमा उम्मेदवार बन्न तथा राजनीतिक नियुक्ति लिन आर्थिक पारदर्शिता र उच्च नैतिकतालाई मापदण्ड बनाउनुपर्ने उनको प्रस्ताव छ ।

    पोखरेलले भदौ २३ र २४ को जेनजी आन्दोलन तथा फागुन २१ को निर्वाचनपछि एमाले रक्षात्मक अवस्थामा पुगेको स्वीकार गरेका छन् ।

    उनले निर्वाचन परिणामलाई अत्यन्त अनपेक्षित र निराशाजनक भन्दै त्यसले पार्टीपङ्क्तिमा निराशा, निष्क्रियता र पलायनताको प्रवृत्तिसमेत बढाएको उल्लेख गरेका छन् ।

    निर्वाचनमा पराजयको कारण बाह्य परिस्थितिमा मात्रै खोज्न नहुने उनको दस्तावेजको आशय छ ।

    पार्टीभित्रका कमजोरी पहिचान गरी समाधान नगरेसम्म बाह्य चुनौतीको सामना गर्न नसकिने उनले बताएका छन् ।

    उनले पार्टीको संगठनात्मक अवस्था कमजोर बनेको र सुरु गरिएको ‘मिसन पार्टी जागरण’ अभियानसमेत प्रभावकारी हुन नसकेको स्वीकार गरेका छन् ।

    तल्ला कमिटीका बैठकमा कोरमको समस्या बढ्दै गएको, बैठक तथा कार्यक्रममा कार्यकर्ताको सहभागिताले उत्साह भर्न नसकेको, सदस्यता नवीकरणमा समस्या देखिएको र संगठनको डिजिटल अभिलेख व्यवस्थापनसमेत प्रभावकारी हुन नसकेको उनले उल्लेख गरेका छन् ।

    त्यस्तै, पार्टीका नेता, कार्यकर्ता र जनप्रतिनिधि जनताको दैनिक जीवनसँग जोडिन नसकेको तथा किसान, मजदुर, युवा, महिला, शिक्षक र अन्य आधारभूत समुदायका मुद्दामा पार्टीको नियमित उपस्थिति कमजोर बनेको उनको विश्लेषण छ ।

    ‘पार्टीका नेता, कार्यकर्ता र जनप्रतिनिधि जनताको घर, खेत, कारखाना, विद्यालय, अस्पताल, बजार, सहकारी तथा डिजिटल संसारसँग निरन्तर जोडिनुपर्छ,’ उनले भनेका छन् ।

    पोखरेलले पार्टीलाई पुनः निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न शुद्धीकरण र संगठनात्मक सुधारलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

    उनले पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकले अघि सारेका दुई कार्यभार र १५ कामको योजनालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

    उनको दस्तावेजमा स्थानीय निर्वाचनलाई लक्षित गर्दै पालिका, वडा र टोल तहसम्म संगठन पुनर्गठन, जनमत सर्वेक्षण, उम्मेदवार छनोट, घरदैलो र निर्वाचन परिचालनको विस्तृत कार्ययोजना पनि प्रस्तुत गरिएको छ ।

    उम्मेदवार छनोटमा पहुँच, लेनदेन र गुटगत प्रभावलाई निरुत्साहित गर्नुपर्ने भन्दै उनले स्थानीय कमिटीको सिफारिस र कार्यकर्ताको भावनालाई प्रमुख आधार बनाउनुपर्ने बताएका छन् ।

    ‘उम्मेदवार छनोटमा पहुँच, लेनदेन, गुटगत प्रभाव र अन्तिम समयको अस्वाभाविक परिवर्तनलाई निरुत्साहित गरिनेछ,’ दस्तावेजमा भनिएको छ ।

    पोखरेलले एमालेको जनताको बहुदलीय जनवादलाई समेत समयअनुकूल अद्यावधिक गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

    कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र, जलवायु संकट, युवा पलायन, सहरी असमानता र नयाँ पुस्ताका सवाललाई पार्टीको वैचारिक बहसमा समेट्नुपर्ने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images