images
images
  • देउवा र प्रचण्डलाई पक्राउ गर्ने ओलीको आशंकाप्रति के भन्छ प्रहरी ?

    काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू, नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गर्ने धम्की दिइएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।

    बुधबार पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले गृहमन्त्री सुदन गुरुङ र प्रहरी नेतृत्वबाट जिम्मेवार राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने आशयका अभिव्यक्ति आएको आरोप लगाए ।

    अपराध गरेको प्रमाण भए जोकोहीमाथि कानुनी कारबाही गर्न सकिने भए पनि धम्कीपूर्ण अभिव्यक्ति दिएर मनोवैज्ञानिक त्रास फैलाउन नहुने उनको भनाइ थियो ।

    ओलीले राणाशासन, पञ्चायती व्यवस्था र निरङ्कुश राजतन्त्रविरुद्ध सङ्घर्ष गरेर आएका नेताहरूलाई हलुका रूपमा नलिन चेतावनी दिँदै भने, ‘केपी ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु रे ! मजाकको पात्र हौँ हामी ?’

    उनले एमाले यस्ता अभिव्यक्तिबाट नडराउने दाबीसमेत गरे ।

    यसैबीच, नेपाल प्रहरीले प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले कसैलाई पक्राउ गर्ने वा थुन्ने विषयमा त्यस्तो अभिव्यक्ति नदिएको स्पष्ट पारेको छ ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले आईजीपीले त्यस्तो अभिव्यक्ति दिएको जानकारी आफूहरूलाई नभएको बताए ।

    उनले भने, ‘आईजीपीसाप त्यसरी औपचारिक कार्यक्रममा कतै जानुभएको पनि छैन, त्यस्तो बोल्नुभएको पनि छैन । उहाँले कुन हिसाबले के भन्नुभएको हो, हामीले पनि बुझेका छैनौँ ।’

    राजनीतिक प्रसङ्गमा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति पनि टिप्पणी गर्दै चुनाव लड्ने उम्मेदवार खोज्दैमा पार्टीको सङ्गठन बलियो नहुने बताए ।

    आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उनले एमालेका नेता तथा कार्यकर्तालाई निरन्तर सक्रिय रहन निर्देशन दिए ।

    एमाले जनताको विश्वास र संघर्षबाट स्थापित भएको भन्दै ओलीले पार्टी पुनः सरकारमा फर्किने दाबी गरे ।

    सिंहदरबार मूल ढोकाबाटै प्रवेश गर्ने र समृद्ध नेपाल, सुखी नेपालीको आकांका पूरा गर्ने उनको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images