काठमाडौं– १९ वर्षीय मोहम्मद यसै वर्ष मार्चमा यमनको लालसागर तटीय क्षेत्रमा हुथी लडाकुहरूसँग मिलेर युद्धमा सहभागी भए। पछिल्ला केही महिनादेखि युद्ध निरन्तर जारी छ र हुथी विद्रोहीहरू आफ्नो प्रभाव विस्तार गर्दै अघि बढिरहेका छन्। उनीहरूले यमन सरकार समर्थक सेनाका साथै साउदी अरब नेतृत्वको गठबन्धनको हवाई आक्रमणको सामना गरिरहेका छन्।
हुथीहरूले अन्तर्राष्ट्रिय प्रतिबन्ध र साउदी अरब तथा यमनी सरकारबाट आर्थिक स्रोतमा पहुँच रोक्ने प्रयासको पनि सामना गरिरहेका छन्। तर पनि हालै सानाको भ्रमणका क्रममा कुराकानी गर्दै मोहम्मदले हुथीहरूले आफ्ना लडाकुहरूलाई आवश्यक सामग्री उपलब्ध गराउन निरन्तर सफलता पाइरहेको बताए।
मोहम्मदले अल जजिरासँग भने, ‘युद्ध मैदानमा सधैँ युद्ध र मृत्यु मात्रै हुँदैन। हामी रमाइलो पनि गर्छौं। उत्कृष्ट खाना खान्छौँ। खाट चपाउन पाउँछौँ। घाइते वा बिरामी भए हाम्रो हेरचाह गरिन्छ। हामीलाई आवश्यक सामग्री उपलब्ध छ कि छैन भन्ने कुरा मैदानमा रहेका हाम्रा कमान्डरले सुनिश्चित गर्छन्।’
एक दशकदेखि जारी युद्धका क्रममा यमनको हुथी समूहले आर्थिक स्रोत जुटाउने विभिन्न माध्यम विकास गरेको छ। यसले उसलाई सैन्य अभियान सञ्चालन गर्न र आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा पकड बलियो बनाउन सहयोग पुर्याएको छ।
मोक्का सेन्टर फर स्ट्राटेजिक स्टडिजले यस वर्ष जुलाईमा सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार हुथीहरूको वित्तीय प्रणालीले वार्षिक करिब २ अर्ब ५० करोड अमेरिकी डलर बराबरका प्रत्यक्ष तथा अप्रत्यक्ष वित्तीय स्रोत परिचालन गर्छ।
प्रतिवेदनअनुसार यसमध्ये कर तथा भन्सारबाट करिब ८० करोड डलर, अतिरिक्त शुल्क तथा लेभीबाट ६० करोड डलर, युद्ध प्रयासका लागि नगद तथा जिन्सी सहयोगबाट ३० करोड डलर र परिचालनसम्बन्धी कार्यक्रमबाट करिब १० करोड डलर प्राप्त हुने गरेको छ।
सोही संस्थाले मे महिनामा सार्वजनिक गरेको अर्को अनुसन्धान प्रतिवेदनले हुथीहरूको नियन्त्रणमा रहेका क्षेत्रबाट सङ्कलित राजस्वको झन्डै ६० प्रतिशत सुरक्षा तथा सैन्य क्षेत्रमा खर्च हुने अनुमान गरेको छ।
आर्थिक स्रोत जुटाउने विविध उपाय
यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकार र साउदी नेतृत्वको गठबन्धन सेनाविरुद्ध हुथीहरूको युद्ध लम्बिँदै जाँदा उनीहरूले आर्थिक स्रोत जुटाउने नयाँ नयाँ उपाय अपनाइरहेका छन्।
सानाका बासिन्दा अलि नाजीले क्षेप्यास्त्र तथा ड्रोन हवाई सेनाका लागि आर्थिक सहयोग गर्न आग्रह गरिएका सन्देश प्रायः आफ्नो मोबाइलमा प्राप्त गर्ने गरेका छन्।
तीन सन्तानका पिता नाजीले अलजजिरासँग भने, ‘म सहयोग गर्दिनँ। तर हजारौँ मानिसले सहयोग गर्छन्। उनीहरूले १०० यमनी रियाल (सानामा हुथी प्रशासनले तोकेको विनिमय दरअनुसार ०.१९ अमेरिकी डलर) मात्रै दिए पनि त्यस्ता साना रकम जोडिँदा लाखौँ पुग्छन् र त्यसबाट युद्ध सञ्चालनका लागि पैसा जुट्छ।’
आर्थिक सहयोग जुटाउने अर्को तरिका चन्दा माग्न खाम वितरण गर्नु हो। गत साता नाजी सानामा साउदी हवाई आक्रमणमा मारिएको भनिएका ४० भन्दा बढी सर्वसाधारणको अन्त्येष्टि जुलुस हेरिरहेका थिए। हुथीहरूले उक्त आक्रमण साउदी अरबले गरेको आरोप लगाएका थिए।
त्यसै क्रममा एक हुथी सदस्य उनीनजिक आए र युद्ध प्रयासका लागि स्वैच्छिक आर्थिक सहयोग गर्न आग्रह गर्दै एउटा खाम थमाए। नाजीले भने, ‘त्यसलाई अस्वीकार गर्न वा खाली खाम नै फिर्ता गर्न मलाई अप्ठ्यारो लाग्यो। त्यसैले मैले खामभित्र एक हजार यमनी रियाल (करिब १.९० अमेरिकी डलर) राखेर फिर्ता दिएँ ।’
ठुला जनप्रदर्शन तथा र्याली आयोजना हुँदा भुईंमा ठुलो कपडा ओछ्याइन्छ र मानिसहरूले आफूले सक्ने रकम सहयोग गर्छन् ।
नाजीका अनुसार कोही नगद दिन्छन्, कोही राइफल, पेस्तोल वा जम्बिया (परम्परागत खुकुरी जस्तो छुरा) जस्ता हतियार सहयोग गर्छन्। एउटा र्यालीबाटै लाखौँ यमनी रियाल सङ्कलन हुनसक्छ।’
यसका अतिरिक्त आयातित तेल पनि हुथी समूहको आम्दानीको प्रमुख स्रोत बनेको छ। जनवरीमा अमेरिकी अर्थ मन्त्रालयले इरान सरकारले संयुक्त अरब इमिरेट्सको दुबईमा रहेका इरानी स्वामित्वका वा इरानसँग आबद्ध कम्पनीमार्फत हुथीहरूलाई तेल बिक्री गर्नुका साथै प्रत्येक महिना निःशुल्क तेलको खेप उपलब्ध गराउने गरेको बताएको थियो।
अमेरिकी अर्थ मन्त्रालयका अनुसार इरानी तेलको आपूर्ति प्राप्त भइरहेकाले हुथीहरूले अवैध तेल बिक्रीमार्फत उल्लेख्य आम्दानी गर्दै आएका छन्। यसबाट उनीहरूले वार्षिक २ अर्ब डलरभन्दा बढी राजस्व प्राप्त गर्ने गरेका छन्।
लडाकु भर्तीका लागि आर्थिक स्रोत
सानास्थित सेन्टर फर स्ट्राटेजिक स्टडिजका अनुसन्धान व्यवस्थापक याजिद अल जिदावीले हुथीहरूले आफैँलाई थप बलियो बनाउँदै लैजाने आर्थिक प्रणाली विकास गरेको अलजजिरालाई बताए।
उनका अनुसार उक्त प्रणालीमा ‘आर्थिक नियन्त्रणले दबाब र जबरजस्तीलाई वित्तीय स्रोत उपलब्ध गराउँछ भने दबाब र जबरजस्तीले थप आर्थिक नियन्त्रण स्थापित गर्न सहयोग गर्छ। ’
अल जिदावीका अनुसार हुथीहरूको आम्दानीका स्रोतमा कर, भन्सार महसुल, धार्मिक कर (जकात), अतिरिक्त शुल्क तथा इन्धन र दूरसञ्चार क्षेत्रबाट प्राप्त हुने आम्दानी समावेश छन्।
उनले थपे, ‘आयात अनुमति, विभिन्न शुल्क र विदेशी मुद्रामा पहुँचमाथिको उनीहरूको नियन्त्रणले व्यापारी तथा व्यवसायीमाथि पनि ठुलो प्रभाव जमाउने अवसर दिएको छ। यी स्रोतहरूले सुरक्षा संयन्त्र र संरक्षणमा आधारित सञ्जाललाई आर्थिक सहयोग गर्छन्। यही संयन्त्रमार्फत उक्त समूहले नियम पालना गराउँछ र आफ्नो सत्ता तथा प्रभावलाई थप सुदृढ बनाउँछ।’
अल जिदावीका अनुसार रोजगारीका अवसर घट्दै गएको र सार्वजनिक क्षेत्रका कर्मचारीले तलब नपाइरहेको अवस्थामा हुथीहरूको वित्तीय प्रणालीले नयाँ लडाकु भर्ती गर्न पनि सहयोग पुर्याइरहेको छ।
–एजेन्सी/साना






















