काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चीनको सिचुवान प्रान्तसँग विकास र साझा समृद्धिका पाँच क्षेत्रमा सहकार्य गर्न प्रस्ताव गरेको छ ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले मंगलबार चीनको चेङ्दुमा चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तीय सचिव वाङ स्याओहुईसँग भेटवार्ता गर्दै सहकार्यका प्राथमिकता प्रस्तुत गरेको हो ।
भेटमा सीमापार यातायात पूर्वाधार, पर्वतीय अध्ययन तथा विपद् जोखिम न्यूनीकरण, स्वच्छ ऊर्जा तथा हरित उद्योग, हवाई सम्पर्क तथा व्यापार प्रवर्द्धन र युवा तथा डिजिटल नवप्रवर्तनलाई सहकार्यका पाँच प्रमुख क्षेत्रका रूपमा प्रस्ताव गरिएको रास्वपाले जनाएको छ ।
नेपाली प्रतिनिधिमण्डलले बाह्रै महिना सञ्चालन गर्न सकिने सीमापार सडक, सुक्खा बन्दरगाहको स्तरोन्नति र आधुनिक भन्सार प्रणाली विकासमा सहकार्य गर्न आग्रह गरेको छ ।
त्यस्तै, मौसम पूर्वानुमान, बाढीको पूर्वसूचना र विपद् व्यवस्थापनमा दुवै पक्षका अनुसन्धान संस्था तथा विश्वविद्यालयबीच सहकार्यको प्रस्ताव गरिएको छ ।

ऊर्जा क्षेत्रमा जलविद्युत्, हरित हाइड्रोजन, रासायनिक मल, विद्युतीय सवारीसाधन तथा ब्याट्री उत्पादनमा लगानी र प्रविधि हस्तान्तरणको सम्भावना औँल्याइएको छ ।
पर्यटन तथा व्यापार विस्तारका लागि चेङ्दुबाट काठमाडौं, पोखरा र भैरहवामा प्रत्यक्ष हवाई उडान विस्तार गर्न पनि नेपाली पक्षले प्रस्ताव गरेको छ ।
त्यस्तै, कृत्रिम बुद्धिमत्ता, सफ्टवेयर इन्जिनियरिङ, प्राविधिक तालिम र हरित डेटा सेन्टरमा सहकार्य गर्दै युवाका लागि नयाँ अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ ।
भेटमा महामन्त्री आचार्यले नेपाल–चीन सम्बन्धलाई विकास र साझा समृद्धिमा केन्द्रित गर्नुपर्ने बताउँदै चीनले नेपालको विकासमा पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
उनले नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहोर्याउँदै नेपाली भूमि चीनको सार्वभौमसत्ता र सुरक्षाविरुद्ध प्रयोग हुन नदिने धारणा राखेको रास्वपाले जनाएको छ ।
सिचुवान प्रान्तीय सचिव वाङले नेपाली प्रतिनिधिमण्डलको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै दुई देशका राजनीतिक नेतृत्वबीच भएका समझदारी कार्यान्वयन र नयाँ क्षेत्रमा रणनीतिक सहकार्य विस्तार गर्न सिचुवानले योगदान गर्ने प्रतिबद्धता जनाएका छन् ।























