images
images
  • ‘गुटबन्दी र खुट्टा तान्ने प्रवृत्ति हाबी भएको’ भन्दै नेकपा नेता दयाराम कार्कीले त्यागे पार्टी

    काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का बागमती प्रदेश कमिटी सदस्य तथा थाक्रे गाउँपालिका पार्टी संयोजक दयाराम कार्कीले पार्टीका सबै जिम्मेवारीसहित साधारण सदस्यतासमेत त्यागेका छन् ।

    कार्कीले नेकपा बागमती प्रदेश कमिटी र धादिङ जिल्ला कमिटीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन् ।

    उनले आजैदेखि लागू हुनेगरी प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीअन्तर्गतका सम्पूर्ण जिम्मेवारी, थाक्रे गाउँपालिका पार्टी संयोजक र पार्टीको साधारण सदस्यतासमेत त्यागेको जनाएका छन् ।

    २०५७ साल चैत १३ गते तत्कालीन नेकपा (माओवादी)को साधारण सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका कार्कीले पार्टीका विभिन्न तहमा रहेर जिम्मेवारी निर्वाह गरेका थिए ।

    उनी स्वास्थ्य तथा जनसंख्या विभागको केन्द्रीय सदस्य हुँदै बागमती प्रदेश कमिटी सदस्य र थाक्रे गाउँपालिका पार्टी संयोजकको जिम्मेवारीमा पुगेका थिए ।

    राजीनामा पत्रमा उनले आफ्नो कार्यकालमा थाक्रे गाउँपालिकाका ११ वटै वडामा पार्टी संगठन विस्तार तथा सुदृढीकरण, थाक्रे–काठमाडौं सम्पर्क समिति गठन र विभिन्न जनवर्गीय संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।

    पार्टीभित्र बढ्दै गएको गुट–उपगुट, आपसी अविश्वास, एकअर्काको खुट्टा तान्ने प्रवृत्ति तथा नेतृत्वसमक्ष गलत सूचना पुर्‍याउने गतिविधिले संगठन सञ्चालन र विस्तारमा कठिनाइ सिर्जना गरेको उनको आरोप छ ।

    व्यक्तिगत स्वार्थ र गुटगत मानसिकता हाबी हुँदा संगठनको सामूहिक हित प्रभावित भएको उनले बताएका छन् ।

    आफ्नो राजनीतिक जीवनमा पद, प्रतिष्ठा र व्यक्तिगत लाभभन्दा इमानदारी तथा राजनीतिक निष्ठालाई प्राथमिकता दिएको उल्लेख गर्दै कार्कीले पार्टीका गतिविधि र संगठन निर्माणमा आफ्नै मेहनतबाट आर्जन गरेको लाखौँ रुपैयाँ खर्च गरेको दाबी गरेका छन् ।

    बदलिँदो राजनीतिक परिस्थिति, आफ्ना विचार, मूल्याङ्कन, आत्मसम्मान र व्यक्तिगत निर्णयका आधारमा अब पार्टीको कुनै पनि तहमा रहेर जिम्मेवारी निर्वाह गर्न नसक्ने निष्कर्षमा पुगेको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

    पार्टीको जिम्मेवारीबाट अलग भए पनि विचार, सिद्धान्त, जनताको अधिकार, सामाजिक न्याय र देशको समृद्धिप्रतिको आफ्नो प्रतिबद्धता यथावत् रहने कार्कीले स्पष्ट पारेका छन् ।

    आगामी दिनमा पनि देश र जनताको हितमा आफ्नो क्षमता र विवेकले भ्याएसम्म योगदान गर्ने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images