
बुटवल- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु प्रसाद पौडेलले एमालेलाई एकल्याउने र कमजोर पार्ने षडयन्त्र सफल हुन नदिने बताएका छन् । उनले पार्टीलाई विभाजित गरेर कम्युनिस्ट आन्दोलनलाई विभाजित गर्ने प्रयास असफल भएको बताए ।
एमाले रुपन्देहीको नवौं जिल्ला अधिवेशनलाई शुक्रबार भैरहवामा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले भने, एमाले अन्य पार्टी भन्दा ठूलो भएर मात्र हुँदैन, एक्लै स्पष्ट बहुमत ल्याउनुपर्छ । उनले धेरै जनताले पत्याएको तथा धेरै नेता कार्यकर्ता आबद्ध भएको पार्टी एमाले भएको बताए ।
उनले भने, विचार, नीतिको हिसाबले यो देशको नेता एमाले हो । एमाले सर्वाधिक शक्तिशाली पार्टी हो । पूर्व उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका नेता पौडेलले विभिन्न प्राविधिक कारणले एमाले प्रतिपक्षमा रहे पनि जनताको साथमा एमाले रहेको बताए । पार्टीप्रति गर्व गरी अझ यसलाई शक्तिशाली र बलियो बनाउनुपर्ने उनको भनाइ थियो ।
ुएमाले र एमालेको जीवनमा यतिबेला धेरै ठूलो संकट आएको छ, सबै प्रहार र षडयन्त्रलाई परास्त गरेका छौं, उनले भने । रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका पौडेलले एमाले र एमालेको जीवनमा यतिबेला धेरै ठूलो संकट आएको बताए । उनले परिवर्तनको संवाहक शक्तिको रूपमा एमालेले आफूलाई स्थापित गरेको बताए ।
एमालेका सचिव, लुम्बिनी प्रदेशका इन्चार्ज तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले एमाले पुनः जिम्मेवारीमा आउने दाबी गरे । उनले आम जनताले पार्टीप्रति गरेको विश्वासलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।
पार्टीका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले आजको कम्युनिस्ट पार्टीको ठूलो चुनौती भनेकै दलाल पुँजीवादबाट बच्नु भएको बताएका छन् । उनले यसबाट बच्न सके क्रान्ति सफल हुने बताए ।
एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पुरुषोत्तम घिमिरे, सचिव जगेश्वरदेवी चौधरीलगायतले बोलेका थिए । दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्वको चयन गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्