काठमाडौं- काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । पटक–पटक गरी विभिन्न समयमा ती महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढालगायत छन्। पक्राउ परेका सात जना मुगु जिल्लाका हुन् भने अर्का एक अर्घाखाँचीका रहेको प्रहरीले जनाएको छ। उनीहरू वैदेशिक रोजगारीका लागि जाने तयारीमा थिए।
मंगलबार पीडित महिलाका आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि प्रहरीले उनीहरुलाई बसपार्कका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
परिसरका एसएसपी सुदीप गिरीका अनुसार पीडितले उजुरी गरेपछि सीसीटीभी फुटेजको आधारमा घटनामा संलग्नहरुलाई मंगलबार राति नै नियन्त्रणमा लिइएको जानकारी दिए ।
घटनामा संलग्न अन्य एक जना फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
काम खोज्दै काठमाडौं पुगेकै दिन सामूहिक बलात्कारको शिकार
नयाँ बसपार्कमा सामूहिक बलात्कारमा परेकी महिला सुर्खेतबाट काम खोज्दै काठमाडौं आएकी थिइन्। उनी १२ गते बिहान काठमाडौं आइपुगेकी थिइन्। उनी काठमाडौं-२६ मित्रनगरमा गेष्ट हाउसमा बसेकी थिइन्। प्रहरीका अनुसार उनी जुन दिन आइन्, त्यसै दिन सामूहिक बलात्कारमा परेकी थिइन्।
उनलाई १२ गते साँझदेखि १३ गते बिहानसम्म मित्रनगरका विभिन्न गेष्ट हाउसमा लगेर बलात्कार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।
श्रीमान बेपत्ता भएपछि एकल रहेकी उनी काम खोज्न काठमाडौं आएकी थिइन्,’ मैनालीले भने। उनलाई सुरूमा युवराज बडुवालले फकाएर गेष्ट हाउसमा लगेका थिए। त्यसपछि पालैपालो अरू युवाले विभिन्न गेष्ट हाउसमा लगेका थिए।
पीडित महिलाको उमेर करिब ३२ वर्ष रहेको र हाल उनको स्वस्थ्य अवस्था सामान्य छ। उनको शारीरिक र मानसिक परीक्षण प्रसूति गृहमा गरिएकोगिरीले बताए ।
बलात्कारमा परेको खबर महानगरीय प्रहरी प्रभाग बसपार्कमा पुगेको थियो। त्यसपछि महानगरीय प्रहरी परिसर काठमाडौं, महाराजगञ्ज वृत्त, महानगरीय अपराध महाशाखालगायतबाट प्रहरी टोली खटिएको थियो।


विश्व खबर 


















