काठमाडौं- शेरबहादुर देउवा नेतृत्वको सत्तारूढ गठबन्धन दल बनेको पाँच महिना बित्दा पनि छिमेकी मुलुक चीनसहित २० मुलुकमा राजदूत नियुक्त हुन सकेका छैनन् । नेपालको तीनवटा संयुक्त राष्ट्रसंघीय नियोग (न्युयोर्क, जेनेभा र भियना) र ३० देशमा दूतावास छन् । जसमध्ये २० वटा देश राजदूतविहीन छन् ।
११ कात्तिकमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत खाली रहेको २३ मध्ये तीन देशका लागि राजदूत नियुक्तिको सिफारिस गरेको थियो । भारतका लागि अर्थविद् डा. शंकर शर्मा, अमेरिकाका लागि परराष्ट्र मामिला विज्ञ श्रीधर खत्री र बेलायतका लागि पूर्वपरराष्ट्रसचिव ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको थियो । राजदूत नियुक्तिका लागि सिफारिस भएका तीनै जना नेपाली कांग्रेसको कोटाका हुन् ।
राजदूत नियुक्ति सिफारिस भएमध्ये शर्मा र आचार्य पूर्वराजदूत हुन् भने खत्री नयाँ अनुहार हुन् । नेपाली कांग्रेसले तीनै जना कूटनीतिक क्षेत्रका अनुभवीलाई राजदूत नियुक्ति गरेको हो । उनीहरूको नियुक्तिसँगै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दललाई कूटनीतिक क्षेत्र अनुभवी व्यक्तिलाई राजदूत नियुक्तिका लागि सिफारिस गर्न दबाब परेको छ ।
राजदूत नियुक्तिका लागि परराष्ट्रको कर्मचारी र राजनीतिक नियुक्ति ५०-५० प्रतिशत गर्ने कार्यविधि निर्माण भएसँगै योपटक परराष्ट्र मन्त्रालयबाट आधा दर्जन बढीले आकांक्षा राखेका छन् । सो कार्यविधिअनुसार अब परराष्ट्र मन्त्रालयबाट ७ जना नियुक्ति हुने छन् भने बाँकी राजनीतिक नियुक्तिबाट हुने छन् । यसअघि परराष्ट्रको कर्मचारीबाट १० जना विभिन्न देशका लागि राजदूत नियुक्ति भइसकेका छन् । गत ११ कात्तिकमा सिफारिस भएका तीन जना राजनीतिक कोटाबाट नियुक्ति प्रक्रिया अगाडि बढिसकेको छ ।
परराष्ट्र मन्त्रालयको सहसचिवबाट आधा दजर्न दाबेदार
परराष्ट्र मन्त्रालयबाट वरिष्ठताका आधारमा सहसचिव निर्मलराज काफ्ले बलियो दाबेदार हुन् । यसअघि तत्काली प्रधानमन्त्री केपी शर्मा ओली नेतृतवको सरकारमा काफ्लेको नाम राजदूतमा सिफारिस भएको थियो । ओली नेतृत्वको सरकार हटे लगतै आएको शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूतमा सिफारिस भएका सबैको नाम बदर गर्ने निर्णय गरेपछि प्रक्रिया अगाडि बढ्न सकेन । वरिष्ठता र कार्यक्षमताका आधारमा काफ्ले योपटक राजदूत नियुक्तिमा पर्ने सम्भावना छ ।
त्यस्तै सहसचिव भरतकुमार रेग्मी र हरिश्चन्द्र घिमिरे पनि राजदूतका लागि बलिया दाबेदार हुन् । उनीहरू दुवैमा विदेशस्थित नियोगमा काम गरेको अनुभव छ । सहसचिव रेग्मी एक वर्षअघि मात्रै भारतस्थित नेपाली दूताबासबाट फर्केका हुन् ।
सहसचिवमा डोरनाथ अर्याल, तीर्थराज वाग्ले, तेजबहादुर क्षेत्री, घनश्याम भण्डारी, दुर्गाबहादुर सुवेदी, लोकबहादुर थापा, सुशीलकुमार लम्साल, धनबहादुर ओली, प्रकाश सुवेदी र सुधीरकुमार भट्टराई पनि राजदूतका लागि दाबेदारी गरिरहेका छन् । दाबेदारमध्ये कतिपय सहसचिव राजनीतिक दलसँग नजिक भएर राजदूत नियुक्तिका लागि पहल गरिरहेका छन् ।
यी हुन्, राजदूत खाली भएका मुलुक
सन् २०१९ जुलाइदेखि सार्क मुलुक श्रीलंकामा राजदूत खाली भएको थियो । श्रीलंकाका लागि राजदूत विश्वम्भर प्याकुरेलले राजीनामा दिएपछि राजदूत नियुक्ति हुन सकेको छैन । त्यस्तै दक्षिण कोरिया पनि सन् २०१९ देखि राजदूतविहीन छ । त्यस्तै रुसमा सन् २०२० डिसेम्बरदेखि राजदूत खाली छ । त्यस्तै राजदूत खाली भएका अन्य मुलुकमा म्यानमार, मलेसिया, डेनमार्क, इजिप्ट ब्राजिल, साउदी अरेबिया, दक्षिण अफ्रिका, बहराइन, इजरायल, स्पेन, ओमान, अस्ट्रेलिया, कतार चीन, बंगलादेश, जापान र भियना रहेका छन् ।


विश्व खबर 


















