• सिंहदरबारमा बिपक्षी दलका नेताहरुको हस्ताक्षर र नागरिकता संकलन जारी : १ बजे सर्वोच्च जाने


    काठमाडौं । सर्वोच्च अदालत जानुअघि सिंहदरबारमा काँग्रेस, माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल पक्षका सांसदहरु हस्ताक्षर र नागरिकता संकलनको कार्यमा व्यस्त छन् ।

    सिंहदरबारस्थित काँग्रेस संसदीय दलमा काँग्रेसका सांसद, माओवादी संसदीय दलको कार्यालयमा माओवादी र जसपा संसदीय दलका कार्यदलमा जसपाका सांसदहरु हस्ताक्षर र नागरिकता संकलनमा व्यस्त रहेका हुन् । यस्तै माधव नेपाल पक्ष पनि सोही प्रयोगमा जुटिरहेको सिंहदरबारमा रहेका रातोपाटीकर्मी लोकेन्द्र भट्टले जनाएका छन् ।

    हस्ताक्षर संकलन पछि विघटित प्रतिनिधिसभाका सांसदहरु दिउँसो १ बजे सर्वोच्च अदालत जाने कार्यक्रम रहेको छ ।
    राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटनको कदमविरुद्ध विपक्षी गठबन्धनका सांसदहरु सर्वोच्च जान लागेका हुन् ।

    काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार पक्षमा उभिएका बहुमत सांसदहरु अदालतमा मुद्दा दर्ता गर्न लागेका हुन् ।

    शनिबार नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच भएको छलफलमा हस्ताक्षर र नागरिकतासहित अदालत जाने निर्णय भएको थियो ।

    सरकारको सिफारिसमा राष्ट्रपतिले जेठ ८ गते राति संसद विघटन गरेपछि विपक्षी गठबन्धन आक्रोशित बनेको छ।

    प्रतिक्रिया दिनुहोस्