काठमाडौं- नेपाली कांग्रेस महामन्त्रीमा पराजित भएका डा.मिनेन्द्र रिजालले आफ्नो स्वविवेकले रक्षामन्त्रीबाट राजीनामा दिएको बताएका छन् ।
बिहीबार मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले महामन्त्रीमा पराजित हुने निश्चित भएपछि नैतिकताको आधारमा स्वविवेकबाट रक्षामन्त्रीबाट राजीनामा दिने निर्णय गरेको बताए ।
रक्षामन्त्रीबाट राजीनामा दिने विषयमा कसैसँग छलफल र सल्लाह नगरेको उनको भनाइ छ ।
जबरस्ती पदमा बसिरहने आवश्यक नठानेको र सार्वजनिक जीवनमै रहने रिजालले बताए । ‘जबरजस्ती घसेटेर पदमा बसिरहने आवश्यक ठानिनँ,’ उनले भने, ‘म सार्वजनिक जीवनमै रहनेछु । राजनीतिमा वा कहाँ भन्नेकुरा पछि थाहा हुनेछ ।’
आफू पराजित हुने गरी आएको परिणाम सहजै स्वीकारेको बताएका उनले सोच विचार गरेर रक्षामन्त्रीबाट राजीनामा दिएको पनि दोहो¥याए ।
अबका दिनमा जे गर्छु भन्ने लागेको थियो, त्यसका लागि जे राजनीति आवश्यक थियो, त्यो आफूसँग नरहेकाले राजीनामा दिने निर्णय गरेको डा.रिजालले बताए ।
उनले भने, ‘निकै ठूलो मतान्तरले हारिसकेपछि आफ्नो अनुहार त राम्रो छ भन्न बहाना खोज्नु राम्रो होइन । चार वर्ष कांग्रेस चल्नुपर्छ, त्यसका लागि मेरो यो (रक्षामन्त्रीबाट राजीनामा दिने) निर्णय उपयुक्त छ ।’


विश्व खबर 


















