images
images
  • माओवादी प्रदेश कमिटी: आकांक्षी धेरै हुँदा टुंगो लगाउन सकस

    काठमाडौं- आकांक्षी धेरै भएपछि सत्ता साझेदार नेकपा माओवादी केन्द्रले बागमती, प्रदेश १, कर्णाली र लुम्बिनी प्रदेशको पदाधिकारी टुंगो लगाउन सकेको छैन।

    माओवादीको २५ र २६ गते प्रदेश अधिवेशन भएको थियो। अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट प्रदेश अधिवेशनको २५ गते एकैसाथ उद्घाटन गरेका थिए।

    सोमबारसम्म माओवादीको गण्डकी, विशेष कमिटी र जनसम्पर्क तथा समन्वय कमिटीका अध्यक्षको टुंगो लागेको कार्यालय मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए।

    अहिलेसम्म विशेष प्रदेश कमिटी अध्यक्षमा जगत सिंखडा चुनिनुभएको छ, यस्तै गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ चयन हुनुभयो,’ ढकालले भने, ‘सम्पर्क तथा समन्वय कमिटी अध्यक्षमा श्रीकृष्ण अधिकारी चुनिनुभयो, अन्य प्रदेशको टुंगो लागेको छैन।’ उनका अनुसार सबै प्रदेशको सदस्य संख्या भने टुंगो लागेको छ।

    ‘प्रदेश १ मा २५९, प्रदेश नम्बर २ मा २७१, वाग्मती प्रदेशमा २७५, गण्डकी प्रदेशमा २२९, लुम्बिनी प्रदेशमा २५३, कर्णाली प्रदेशमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ जनाको कमिटी बनाउने टुंगो लागेको छ,’ ढकालले थपे, तर, प्रदेश कमिटीका सदस्यहरुको नाममा पनि छलफल जारी छ।’

    माओवादी केन्द्रको प्रदेश कमिटीमा ९ जना पदाधिकारी रहनेछन्। आकांक्षी धेरै भएपछि टुंगो लगाउन सकस परेको नेताहरु बताउँछन्। ‘सबैको दाबी अध्यक्षमा छ,’ माओवादीका एक केन्द्रीय सदस्यले भने, ‘आकांक्षी धेरै भएपछि र नेतृत्वमै दाबी गरेपछि चयन गर्न समस्या परिरहेको छ।’

    बागमती, प्रदेश १, कर्णाली र लुम्बिनीमा अध्यक्ष दाबी गर्नेहरुको संख्या बढेको छ। ‘चुनाव गरेर नेतृत्व सकभर चयन नगरौं भन्ने अध्यक्ष प्रचण्डको चाहना छ, त्यही भएर सहमतीय आधारमा चयन गर्न खोजेको तर, साथीहरु मान्नु भएकै छैन,’ ती नेताले थपे।

    प्रतिक्रिया दिनुहोस्
    images
    images