images
images
  • कांग्रेस महाधिवेशन: लुम्बिनीमा ६३ मतले पुनको अग्रता

    बुटवल- नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणनामा सभापतिका उम्मेदवार अमरसिंह पुनले अग्रता लिएका छन् । कुल तीन सय ६५ मत गणना हुँदा पुनले दुई सय १० मत प्राप्त गरेका छन् ।

    सभापतिका अर्का प्रत्यासी भरतकुमार शाहले एक सय ४७ मत प्राप्त गरेका छन् । पुन रामचन्द्र पौडेल समूहका हुन् भने शाह संस्थापन निकट मानिन्छन् । उनी संसदको सार्वजनिक लेखा समितिका सभापति हुन् ।

    यस्तै, उपसभापतिमा अष्टभुजा पाठकले दुई सय चार, भुवनप्रसाद श्रेष्ठले दुई सय आठ, राजु खनालले एक सय ४७ र सुधाकर पाण्डेले एक सय १८ मत ल्याएका छन् । अग्रता हासिल गरेका दुवै जना पौडेल प्यानलका हुन् ।

    महामन्त्रीमा विक्रम खनालले दुई सय १८, सुरेन्द्रराज आचार्यले दुई सय ११, खिमानसिंह रायमाझीले एक सय २३ र जन्मजय तिमिल्सेनाले एक सय २७ मत ल्याएका छन् । अन्य पदाधिकारी एवं सदस्यमा पनि पौडेल समूहका उम्मेदवारले अग्रता लिएका छन् ।

    शनिबार राति १२ बजेदेखि सुरू भएको मत गणनामा अहिलेसम्म तीन सय ६५ मत गणना भएको निर्वाचन समिति संयोजक बुद्धबहादुर थापाले बताए । खुलातर्फ तीन सय र जिल्लातर्फ करिब तीन सय ६५ मत गणना भएको उनले जानकारी दिए ।

    शनिबार बिहान ११ बजेदेखि भैरहवास्थित महेन्द्र सभागृहमा सुरू भएको मतदान साँझ साढे ५ बजे सकिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images