काठमाडौं- नेपाली कांग्रेसका नेता रामहरि खतिवडा पार्टीमा लोकप्रिय नाम हो । युवा उमेरमै खतिवडा ओखलढुंगामा चर्चित भइसकेका थिए ।
नेपाली कांग्रेसका सन्तनेता कृष्णप्रसाद भट्टराई र बलबहादुर राईको प्रभाव उनमा देखिन्छ । जनता र देशलाई केन्द्रविन्दुमा राखेर राजनीति गर्नुपर्छ भन्ने मान्यता बोकेका खतिवडा संगठन विस्तारमा पनि कुशल मानिन्छन् । त्यही भएर उनले ओखलढुंगामा कांग्रेसलाई बलियो बनाएका छन् ।
नेपाली कांग्रेसलाई कुनै हिसाबमा, कुनै पनि बहानामा कमजोर गर्ने छुट कुनै नेतालाई छैन भन्ने मान्यता बोक्ने उनी पार्टीमा देखिएको विकृति र विसंगतिप्रति पनि बेलाबेलामा औंला ठड्याउने गर्छन् । त्यही भएर पनि उनलाई पार्टीमा जुनसुकै पक्षका नेता कार्यकर्ताले पनि विश्वास र भरोसा गर्छन् ।
कांग्रेसको १३औं महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिइसकेका खतिवडा झिनो मतान्तरले २५ जना केन्द्रीय सदस्यभित्र समेट्न सकेनन् । कांग्रेसका महाधिवेशन प्रतिनिधिमा उनी निकै लोकप्रिय थिए । कुनै पक्षमा नभई आफ्नै बलबुत्तामा खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदा पनि झन्डै झन्डै चुनाव जितेकाले पनि उनको लोकप्रियता कति रहेछ भन्ने पुष्टि हुन्छ । सोही कारण १४औं महाधिवेशनमा उनले पदाधिकारीमै दाबी गर्ने तयारी गरेका छन् ।
त्यसका लागि उनले पार्टी सभापति शेरबहादुर देउवासँग पटक पटक भेटेर आफूले सहमहामन्त्रीमा उम्मेदवारी दिन लागेको जानकारी गराइसकेका छन् ।
ओखलढुंगामा देउवा पक्षको बलियो पकड मात्र होइन, जिल्ला सभापति पनि जिताएको पार्टी सभापति देउवा खतिवडासँग निकै खुसी छन् । आफूले सहमहामन्त्रीमा उम्मेदवारी दिन लागेको जानकारी गराउँदा सभापति देउवाले महाधिवेशन उद्घाटनसम्म कुर्न भनेको नेता खतिवडाले जानकारी दिए ।
यदि देउवा पक्षबाट सहमहामन्त्रीको टिकट नपाए पनि खुला केन्द्रीय सदस्यमा खतिवडाको पद सुरक्षित रहेको बताइन्छ । भूकम्प, बाढीपहिरो, अन्य प्राकृतिक विपत्ति, विकास निर्माणका साथै कोरोना महामारीका बेला खाितवडाले आफ्नै पहलमा ओखलढुंगावासीका लागि निकै काम गरेका छन् ।
हरेक हप्ताजसो उनी काठमाडौंबाट केही न केही विकास लिएर, जनताका लागि राहत बोकेर उनी जिल्ला पुगिरहन्छन् । आमनिर्वाचनमा पार्टीकै अन्तर्घातका कारण पराजयको पीडा बेहोरे पनि उनी ओखलढुंगावासीको सेवामा कहिल्यै पछाडि हटेका छैनन् ।
त्यसले गर्दा पनि यसपटक खतिवडालाई जिल्लावासीले कांग्रेसको केन्द्रीय कमिटीमा देख्न चाहेका छन् । ओखलढुंगाबाट प्रतिनिधिसभामा विजयी भएका एमालेका सांसद यज्ञराज सुनुवार जहिल्यै पनि काठमाडौंमै भेटिन्छन् । कतिसम्म भने प्राकृतिक विपत्ति होस् या कोरोना कहर सुनुवारले जिल्लावासीका लागि राहत बोकेर लगेको कसैले पनि थाहा पाएनन् ।तर, कांग्रेस नेता खतिवडाले भने स्वास्थ्य मन्त्रालयमा डेलिगेसन नै गएर पिसिआर परीक्षण गर्ने मेसिन ओखलढुंगामा जडान गरिदिए । यसले गर्दा पनि आमजिल्लावासीमा उनीप्रति निकै सहानुभूति छ ।
पार्टीका सभापति पनि खतिवडाको जनताका लागि मरिमेटेर काम गर्ने प्रवृत्तिप्रति निकै खुसी छन् । जसकारण खतिवडाको संस्थापन पक्षमा छाप राम्रो रहेको छ । धेरैले उनलाई प्रदेश १ को पदाधिकारीमा दाबी गर्न सल्लाह दिए पनि उनले केन्द्रमै आउने बताइसकेका छन् ।


विश्व खबर 


















