images
images
  • प्रधानमन्त्रीमा ओली र देउवाकाे आ-आफ्नाे दावी, राष्ट्रपतिले दुवै पक्षकाे आधार अध्ययन गर्ने


    काठमाडौं । संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेश गरेका छन् ।

    राष्ट्रपतिले प्रतिनिधिसभाका दुई वा दुईभन्दा बढी दलको बहुमतसहित दावी पेश गर्न दिएको समयभित्र ओली र देउवाले आ-आफ्नो बहुमत रहेको भन्दै दाबी पेश गरेका हुन् ।

    साँझ ५ बजेभित्र दाबी पेश गर्न भनिएकोमा ओली साढे ४ बजे नै बहुमत दाबी गरेर शीतल निवासबाट बाहिरिएका थिए भने देउवा पौने पाँच बजे दाबी पेश गरेर बाहिरिएका हुन् ।

    ओलीले नेकपा एमाले र जसपाका १५३ जना सांसदको समर्थन रहेको दाबी गरेका छन् । उनलाई जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले पार्टीको समर्थन रहेको लिखित पत्र दिएका छन् ।

    त्यस्तै देउवाले कांग्रेस,माओवादी,जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका माधव नेपाल पक्षको समर्थनमा १४९ जना सांसदको हस्ताक्षर बुझाएका छन् ।

    दुवै पक्षले बहुमत दावी गरेकाले अब राष्ट्रपतिले दुवैले प्रस्तुत गरेको आधार अध्ययन गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले नेपाल प्रेसलाई जानकारी दिए । ढकालका अनुसार अध्ययनका लागि केही समय लाग्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images