काठमाडौं– दोलखाको मेलुङ्ग घर भएका एलेक्स कार्कीले सिड्नीको द हिल सायर काउन्सिलको काउन्सिलर पदमा उमेद्वारी दिएका छन् । हाल अष्ट्रेलिया बस्दै आएका उनले डिसेम्बर ४ मा हुने चुनावमा टिकट पाए । अष्ट्रेलियाको मुख्य दल मध्यको लेवर पार्टीको रुपमा न्यू साउथ वेल्स राज्यमा उनले उमेद्वारीको घोषणा गरेका हुन् ।
उमेद्वारी घोषण गरेसंगै एलेक्स नेपाली संघसंस्था, स्थानीय तहदेखि संघिय सांसदहरुसँग भेटघाट तथा अन्तरक्रियामा व्यस्त छन् । भेटघाट तथा अन्तरक्रियामा उनले अष्ट्रेलियाको सबै क्षेत्रमा नेपालीहरुको प्रतिनिधित्व रहेको र आफूले उमेद्वारीे दिएको कुरा जानकारी गराउँछन् ।
यसै क्रममा १३ नोवेम्बरमा क्यासल हिल आरएसएल क्लबमा उनले चुनावी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका थिए । उक्त कार्यक्रममा बोल्ने नेपाली वक्ताहरुले अष्ट्रेलियामा नेपालीहरुका समस्या र ती समस्या समाधानमा सरकारले देखाउनुपर्ने तदारुकताको बारेमा प्रकाश पारेका थिए ।
पाँच स्थानीय तहमा काम गरेको अनुभव भएका ३७ वर्षे एलेक्स पेशाले इन्जिनियर हुन् । आफूले चुनाव जितेको अवस्थामा आफ्नो सीप प्रयोग गरी ट्राफिक समस्या, जलवायु परिवर्तन लगायतका मुद्धामा विशेष काम गर्ने बताए । नेपालीहरुले पाउनुपर्ने सुविधाहरुको विषयमा आफूले काम गर्ने उनको प्रतिवद्धता छ ।
दोलखा जन्मिएका एलेक्स सन् २००३ मा अध्ययनका लागि अष्ट्रेलिया गएका थिए । उनले सिड्नीको युनिभर्सिटी अफ न्यू साउथ वेल्समा अध्ययनकै समयमा सन् २००७ मा लेवर दलको सदस्यता लिए । विद्यार्थी जीवनमा सिड्नी सिटी काउन्सिलमा समेत काम गरिसकेका एलेक्स हाल राज्य सरकारको यातायात विभागमा कार्यरत छन् ।
अष्ट्रेलियामा विभिन्न कामधन्दामा संघर्ष गर्दै राजनीतिमासमेत पुग्न सफल भएपछि यतिबेला एलेक्सको चर्चा बढेको छ । एलेक्सले चुनावमा लड्ने तयारी भएको जानकारी दिदै भोट अपिल गर्ने अभियानमा छन् ।


विश्व खबर 



















