images
images
  • प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान

    काठमाडौं-नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मालाई भारत सरकारले भारतीय सेनाध्यक्षको दर्जा प्रदान गरेको छ ।   बुधबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट प्रधानसेनापति शर्माले भारतीय सेनाध्यक्षको दर्जा ग्रहण गरेका हुन् ।

    शर्माले मैत्रीपूर्ण सम्बन्ध बढाउन गरेको योगदान र उनको प्रशंसनीय सैन्य कौशल, भारतसँगको साथ लामो मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ गर्न उनको अपार योगदानको सम्मानमा मानार्थ सेनाध्यक्षको र्‍यांक प्रदान गरिएको भारतीय सेनाले जनाएको छ ।

    शर्माले नेपाली सेनाको आधुनिकीकरण अभियानलाई जारी राखेकोमा पनि भारतीय सेनाले प्रशंसा गरेको छ ।राष्ट्रपति भवनमा भारतका रक्षामन्त्री राजनाथ सिंहसहित मन्त्रीहरु, दिल्लीस्थित नेपाली राजदूतावासका कुटनीतिज्ञ, भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलगायत सैन्य अधिकारी उपस्थित थिए ।

    नेपाल र भारतका सेनापतिले एकअर्काको देशमा मानार्थ सेनापतिको दर्जा ग्रहण गर्ने चलन छ । यसअघि भारतीय स्थल सेनाध्यक्ष नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा ग्रहण गरिसकेका छन् ।

    शर्मा भारतीय सेनाको मानार्थ महारथीको सम्मान पाउने नेपाली सेनाका १५ औं सेनापति हुन् । नेपालबाट १९६९ मा प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ सेनाध्यक्षको दर्ज्यानी चिह्न पाएका थिए ।

    त्यसयता सिंहबहादुर बस्न्यात, गुणशमशेर जबरा, सिंहप्रताप शाह, अर्जुननरसिंह राणा, गडुल शमशेर जबरा, धर्मपालवरसिंह थापा, प्रज्वल शमशेर जबरा, प्यारजंग थापा, रूक्माङ्गद कटुवाल, छत्रमानसिंह गुरुङ, गौरव शमशेर जबरा, राजेन्द्र क्षेत्री र पूर्णचन्द्र थापा गरी १४ जनाले मानार्थ महारथीको सम्मान पाइसकेका थिए।

    भारतबाट पहिलो पटक जनरल केएम करिअप्पाले नेपालमा आएर मानार्थ महारथीको सम्मान लिएका थिए । त्यसयता नरभणेसहित १८ जनाले मानार्थ सेना प्रमुखको सम्मान लिइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images