काठमाडौं-नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा (एमाले)ले चाहेको जस्तो अर्ली इलेक्सन अहिले असम्भव भएको बताएका छन्।
भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले एमालेलाई स्थानीय तह, प्रदेश र केन्द्रमा अब हुने चुनावमा हराउनुपर्ने बताए।‘यसपटकको चुनावमा नेकपा एमालेलाई कुचो लगाएर बढार्ने हो। बढार्दा कुनाकाप्चामा धुलो अड्कियो भने भ्याकुम लगाउने हो,’ थापाले भने।
विगतमा पनि कांग्रेस एक्लै निर्वाचन लड्दा पहिलो पार्टी बनेको थापाले बताए। नेकपा एमालेकाअध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लाएक्लै प्रतिस्पर्धामा आउन केही समयअगाडि चेतावनी नै दिएका थिए।‘सिङ्गल-सिङ्गल लड्ने भनेको होइन? हामी विगतमा सिङ्गल नै लडेर पहिलो पार्टी बनेको हो,’ उनले भने।उनले कांग्रेसले अहिले सरकारको नेतृत्व लिएको र जिम्मेवारी पूरा गरिने बताए।
उनले वैशाखमा स्थानीय तहको निर्वाचनबाहेक अरू कुनै निर्वाचन समयअगाडि नहुने बताएका हुन्।नेता थापाले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदमा चुनाव हुँदैछ भने प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त पदमा पनि उपनिर्वाचनको लागि सरकारले तयारी गरेको जानकारी दिए।
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई आफूले दुई पटक भेटेर सरकारले गरेका राम्रा र नराम्रा कामबारे जानकारी गराएको र नराम्रा काम नगर्न आग्रह गरेको पनि थापाले बताए।उनले एमाले पार्टी नभई ओली एन्ड कम्पनी भएको आरोप लगाए।‘एमालेमा फरक मत राख्ने दुई जना मात्रै देख्छु। भीम रावल र घनश्याम भुसाल। बाँकी कोही हुनुहुन्न,’ उनले भने, ‘एमाले फुट्यो अहिले ओली एन्ड कम्पनी भएको छ।’
उनले अर्ली इलेक्सन नहुने पनि बताए। बरू वैशाखमा स्थानीय तहको चुनाव हुने उनको भनाइ छ।पार्टीको १४ औं महाधिवेशन मंसिरमा हुने र पुस २ भित्र निर्वाचन आयोगमा १४ औं महाधिवेशनपछि आएको कार्यसमिति दर्ताका लागि जाने पनि उनले बताए।
राष्ट्रिय सभाको रिक्त हुने सदस्य पदमा चुनाव हुँदैछ भने प्रतिनिधि सभा र प्रदेश सभाका रिक्त पदमा पनि उपनिर्वाचनको तयारी छ।कांग्रेस पहिला पनि एक्लै चुनाव लडेर ठूलो पार्टी भएको हो र अहिले पनि एक्लै चुनाव लडेर ठूलो पार्टी बन्छु, उनले भने, ‘आगामी निर्वाचनमा कांग्रेस एक्लै लडेर पनि एमालेलाई केन्द्र, प्रदेश र स्थानीय तहबाट हराउँछ।’
नेता थापाले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आफूले सरकारले गरेका राम्रा र नराम्रा कामबारे जानकारी लिएको बताउँदै नराम्रा काम नगर्न सरकारलाई आग्रह गरेको जानकारी दिए।
कार्यक्रममा वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्णलाल भँडेलले प्रदेश सरकारले जिम्मेवारीपूर्वक काम गर्ने बताए। नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले राजनीति गरेर धन कमाउनेहरुको स्रोत खोज्नुपर्ने बताउँदै मुलुकमा सुशासनको अनुभूति दिलाउनेतर्फ सरकार अग्रसर रहेको उल्लेख गरे।
कार्यक्रममा सूर्यविनायक नगर कांग्रेस सभापति निशान ढुङ्गेल, गुण्डु गाविसका पूर्वअध्यक्ष भेषबहादुर कार्की, कार्यक्रमका सभापति एवं कांग्रेस वडा नं ७ का अध्यक्ष जगदीश बस्नेतले आगामी निर्वाचनमा कांग्रेसले भक्तपुरको सबै ठाउँमा विजयी हुने दाबी गरे।


विश्व खबर 



















