प्रदेश २ मा एमालेलाई पहिलो राजनीतिक शक्ति बनाउने साहको दावी
चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले अध्यक्ष केपी शर्मा ओली बाँचुञ्जेल आफूले साथ दिने बताएका छन् ।
एमालेको भरतपुर महानगर कमिटीको अधिवेशनको सोमबार आयोजित उद्घाटन कार्यक्रममा उनले ओलीले मात्रै नेपालको कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न सक्ने भएकोले आफूले साथ दिने बताए ।
ओलीसँगै काठमाडौंबाट स्थलमार्ग हुँदै चितवन आएका नेता साहले प्रदेश २ मा एमालेलाई पहिलो राजनीतिक शक्ति बनाउने दावी गरे । गत निर्वाचनमा एमालेले प्रदेश २ मा सोचेजस्तो नतिजा नल्याएको भन्दै साहले आगामी निर्वाचनमा त्यसको क्षतिपूर्तिसहित निर्वाचन जित्ने बताए । नेता साहले मधेसमा एमालेको पक्षमा लहर आएको पनि दावी गरे ।
माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेका प्रभु साहले अध्यक्ष केपी ओलीसँग कुरा मिलेपछि सोमबार पहिलो पटक पार्टी कार्यक्रममा सम्बोधन गरेका छन् । माओवादी परित्याग गरेर आए पनि उचित व्यवस्थापन गर्न नसकेको भन्दै साह अध्यक्ष ओलीसँग असन्तुष्ट थिए । गत विधान महाधिवेशनमा समेत सहभागी नभएका साह हालै अध्यक्ष ओलीसँगको छलफलपछि कार्यक्रममा देखिएका हुन् । सोमबार चितवनको भरतपुरमा आयोजित भरतपुर महानगरको प्रथम अधिवेशनलाई साहले सम्बोधन गरेका हुन् । अध्यक्ष ओलीसहित सहभागी सो कार्यक्रममा सम्बोधन गरेर एमालेभित्र देखिएको असन्तुष्टि समाधान भएको सन्देश दिएका छन् । साहनिकट दुई नेतालाई अध्यक्ष ओलीले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।
यो पनि पढ्नुहोस् :दक्षिणपन्थीका प्रतिनिधि प्रचण्ड, भन्डाफोर गर्न चितवनमा महाधिवेशन : बादल


विश्व खबर 



















