काठमाडौं । कोभिड–१९ को दोस्रो लहरको सामना गरिरहेको नेपालका लागि विदेशमा रहेका नेपालीहरुले सहयोग पठाउने क्रम जारी छ। कतिपय देशबाट अक्सिजन सिलिन्डर र कतैबाट अरु किसिमका स्वास्थ्य उपकरण सहयोग भइरहेको छ।
प्रारम्भिक रुपमा अरबमा रहेका नेपालीहरुले अक्सिजन सिलिन्डर पठाएका थिए। त्यसपछि अरु मुलुकमा रहेका नेपालीहरुले पनि यस्तो सहयोग जुटाउन थालेका हुन्।
यसैबीच, एनआरएनए क्यानाडाको संयोजनमा ७५ वटा ‘अक्सिजन कन्सन्ट्रेटर्स’ उपकरण नेपाल पठाइने भएको छ। पछिल्लो तथ्यांकअनुसार हालसम्म ४५ वटा उक्त उपकरणका लागि स्रोत जुटिसकेको जनाइएको छ। अरु दाताहरुबाट पनि सहयोग दिने क्रम जारी छ।
एउटा अक्सिजन कन्सन्ट्रेसन १० लिटरको हुने अनि त्यसको सरदर मूल्य एक हजार क्यानेडीयन डलर पर्ने जनाइएको छ।
दाताहरुबाट जुटेको रकमले चीनका बिक्रेताबाट खरिद गर्ने अनि त्यतैबाट ती उपकरण नेपाल पठाइने भएको हो।
एनआरएनए क्यानाडाले यहाँ रहेका सबै नेपालीलाई सहयोगका लागि आग्रह गरेको छ। सहयोग जुटेसम्म संकलन गर्ने र बाँकी संस्थाले नै जुटाउने अध्यक्ष चिरञ्जीवी घिमिरेले बताए।
उनले दाताहरुलाई धन्यवाद दिंदै सहयोग निरन्तर गर्न अपील गरेका छन्। संकलन भएको उपकरण नेपाल सरकारको स्वास्थ्य मन्त्रालयलाई सात दिनभित्र उपलब्ध गराइने भएको छ।
क्यानाडामा रहेका विभिन्न संस्था तथा व्यक्तिले उक्त उपकरण खरिद गर्नका लागि रकम सहयोग गरेका छन्।
ग्रेटर टोरन्टो एरियास्थित नेप्लीज क्यानेडीयन हेरिटेज सेन्टर १० वटा, नेपाली कल्चरल सोसाइटी मनिटोबा ५, एनआरएनए क्यानाडाका उपाध्यक्ष तथा मिसिसागा माल्टनका एमपी नोमिनी बिजय पौडेल, पूर्णिमा दागा र परिवारले ५ वटा उपकरण खरिद गर्न रकम सहयोग गरेका छन्।
यसैगरी नेपाली कल्चरल सोसाइटी अफ ब्रिटिश कोलम्बियाबाट ५, नेप्लीज क्यानेडीयन सोसाइटी अफ एडमन्टनबाट ५, नेप्लीज मधेसी कम्युनिटी इन क्यानाडाबाट ३, नेप्लीज कम्युनिटी नेटवर्क अफ क्यानाडाबाट २ वटा उपकरण खरिद गर्नका लागि रकम सहयोग गरेका छन्।
यस्तै, नेप्लीज क्यानेडीयन कम्युनिटी सर्भिसेजबाट २, बागलुङ सेवा समाज क्यानाडाबाट २, क्याल्गेरी नेप्लीज कम्युनिटी एसोसिएसनबाट एक, स्कारब्रो निवासी कृष्ण केसी र मन केसीबाट एक, लियाम इन्टरनेसनल एसोसिएसन अफ क्यानाडाबाट एक, ब्राम्पटन निवासी उमाशंकर मल्लिकबाट एक तथा ओभरसिज नेपाली युनिटी फोरमबाट एक उपकरण खरिद गर्नका लागि रकम सहयोग जुटेको संघले जनाएको छ।
थप ३० वटा ‘अक्सिजन कन्सन्ट्रेटर्स’ का लागि स्रोत जुटाउन पहल भइरहेको उल्लेख गर्दै संघले जुट्न नसके आफैं व्यवस्था गर्ने जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्