• नेपालीले विमान चार्टर गरी विदेश जान पाउने तर, तत्काल स्वदेश फर्कन नपाउने

    काठमाडौं । सरकारले विदेश जान चाहने नेपालीलाई रोक नलगाउने निर्णय गरेको छ । यसअघि सरकारले नेपालीलाई भारतबाहेक अन्य देश जान रोक लगाएको थियो । नयाँ निर्णयसँगै वैदेशिक रोजगारीमा जान चाहने नेपालीहरू विदेश जान पाए पनि स्वदेश भने आउन पाउनेछैनन् । अब चार्टर उडानमार्फत जोकोही नेपाली विदेश जान पाउने भएका छन् । ‘नेपालबाट हुने उडानबाट जान दिने, तर नेपाल आउन भने नपाउने निर्णय भएको छ, सोहीअनुसार उडानमा नेपाली पनि जान पाउनेछन्,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने । नेपालीहरू जुनसुकै भिसा भए पनि बाहिर जान पाउने, तर नेपाल भने तत्काल आउन नपाउने पोखरेलले जानकारी दिए ।

    केही दिनअगाडि सरकारले भारतीयलाई साउदी जान दिने, तर वैदेशिक रोजगारीमा जाने रोकिएका नेपालीलाई रोक लगाउने निर्णयसँगै चर्को आलोचना भएको थियो । भारतीय दूतावासको आग्रह भन्दै सातामा १० उडानमार्फत भारतीयलाई साउदी जानका लागि अनुमति दिइएको थियो । जसकारण अहिले धमाधम उडान भइरहेका छन् । यता युरोप, अमेरिकालगायत देशमा नेपालस्थित विदेशी दूतावासहरूले आफ्ना नागरिक लैजानका लागि जहाज चार्टर गरिरहेका छन् । नेपालीले चाहेमा सोही उडानमा पनि जान पाउने व्यवस्था सरकारले गरेको छ ।

    सातामा नेपाल वायुसेवा निगमले ७ र हिमालय एयरलाइन्सले ३ उडान गर्न अनुमति पाएका हुन् । परराष्ट्र मन्त्रालय र भारतीय दूतावासबाट पत्र आएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान अनुमति दिएको थियो ।

    ‘अब साउदी मात्रै नभएर युुरोप, अमेरिका पनि जान पाउनेछन्,’ महानिर्देशक पोखरेलले भने । भारतीय दूतावासले पठाउने नामको सूचीअनुसार निगम र हिमालय एयरलाइन्समार्फत भारतीयहरू साउदी गइरहेका छन् ।

    साउदीले भारतलाई यात्रा प्रतिबन्ध लगाए पनि नेपाललाई भने अझै आवतजावत गर्न अनुमति दिइरहेको छ । यसैको फाइदा उठाउँदै भारतीय नागरिक नेपाल भएर रोजगारीका लागि साउदी जान थालेका थिए । अहिले पनि साउदी अरबले भारतसँग सीधा उडान बन्द गरेको छ ।

    सरकारले जेठ १७ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । आन्तरिक उडान अनिश्चित कालका लागि बन्द छन् । चार्टर र उद्धार उडान हुन सक्ने भनिए पनि सरकारले आफ्ना नागरिकका लागि कुनै देशमा उडान गरेको छैन ।

    यता एयर बबलको सम्झौताअनुसार भारत–नेपालमा सातामा एक–एक उडान भइरहेका छन् । जसअनुसार नेपाल वायुसेवा निगम र एयर इन्डियाले सातामा एक–एक उडान गरिरहेका छन् । एयर बबल सम्झौताअनुसार उक्त उडानमा भारतीय र नेपालीले मात्रै उडान गर्न पाउनेछन् । जसमा तेस्रो मुलुकका नागरिकले उडान गर्न पाउनेछैनन् ।

    हेलिकोप्टरको चार्टरको भाडा घट्यो
    नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशनमा हेलिकोप्टर कम्पनीहरूले चार्टर उडानको भाडा घटाएका छन् । कम्पनीहरूले बढीमा प्रतिघन्टा उडानमा १२ सय डलर मात्रै लिने भएका छन् । प्राधिकरणले महँगो भाडा लिएमा प्राधिकरणमा उजुरी दिन आग्रहसमेत गरेको छ । यसअघि हेलिकोप्टर कम्पनीहरूले महँगो भाडा लिएको भन्दै गुनासो आएको थियो ।

    भिसा पाएका १२ हजारभन्दा बढी श्रमिक नेपालमै रोकिए

    दोस्रो चरणको कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा १२ हजारभन्दा बढी नेपाली श्रमिक वैदेशिक रोजगारीमा जानबाट रोकिएका छन् । वैदेशिक रोजगार व्यवसाय संघका अनुसार रोजगारीका लागि मध्यपूर्वका विभिन्न मुलुक जान तयार भएका र बिदामा आई फर्कन तयार भएका श्रमिक रोकिएका छन् । साउदी अरबको भिसा लागेर जान तयार भएका ३ हजार १ सयभन्दा बढी श्रमिक नेपालमा नै रोकिएका छन् । त्यस्तै, कतारको भिसा लागेका २ हजार ६ सयभन्दा बढी छन् । दुबईको भिसा लागेर बसेका २ हजार ३ सय, ओमानको भिसा लागेका ३५० र बहराइनको भिसा लागेर १५० भन्दा बढी श्रमिक नेपालमा नै रोकिएका छन् । त्यस्तै, बिदामा आई पुनः श्रम स्वीकृति लिएर बसेका करिब ४ हजार श्रमिक फर्कन नपाएको संघका सचिव मेघनाथ भुर्तेलले बताए ।

    मध्यपूर्वमा नेपाली श्रमिकलाई खुला
    मध्यपूर्वका मुलुकमा नेपाली श्रमिकलाई रोजगारीमा जान खुला गरिएको छ । नेपालमा कोरोना संक्रमण बढे पनि सम्बन्धित मुलुकले तोकेको स्वास्थ्य मादपण्ड पालना गरी नेपाली श्रमिक जान पाउँछन् । कतार जाने नेपाली श्रमिकले पिसिआर परीक्षण गरी १५ दिन होटेल क्वारेन्टिन बसेपछि काममा जान पाउँछन् । त्यसैले कतार पुग्नुअघि नेपालबाट नै होटेल बुकिङ गर्नुपर्ने संघका सचिव मेघनाथ भुर्तेलले बताए । त्यस्तै, साउदी, दुबई, ओमान र बहराइनले पनि पिसिआर परीक्षण र १५ दिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने मापदण्ड तोकेको छन् ।

    तर, नेपाल सरकारले भने कोरोना संक्रमण नियन्त्रणका लागि गत वैशाख २३ गतेदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । समयमा नै गन्तव्य मुलुकमा जान नपाउँदा कतार जाने कतिपय श्रमिकको भिसाको अवधि नै सकिएको संघका सचिव भुर्तेलले बताए । सरकारले जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ ।

    अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोजगारीमा गएर भिसा अवधि सकिएका श्रमिकसमेत नेपाल फर्कन पाएका छन् । भिसा अवधि समाप्त भएका, आममाफी पाएका, बिरामी र भिजिटका लागि गएका नेपाली नागरिक नेपाल फर्कन पाएका छैनन् । त्यसैले रोजगारीमा मृत्यु भएका नेपाली श्रमिकको शवसमेत नेपाल ल्याउन नसकिएको संघले जनाएको छ ।

    २५ हजारको टिकटलाई १ लाख ६० हजारमा बिक्री गरिँदै
    साउदी अरबको हवाई टिकट ६ गुणाले बढाइएको वैदेशिक रोजगारी व्यवसायीहरूले बताएका छन् । सरकारले साउदी अरब उडानको अनुमति दिएका एयरलाइन्सको टिकटलाई ट्राभल एजेन्टहरूले बढाएर बिक्री गरेको व्यवसायीहरूको भनाइ छ ।

    व्यवसायीका अनुसार भारतीय श्रमिकले साउदी अरबका लागि भारतीय १ लाख रुपैयाँसम्म भुक्तानी गरेका छन् । सामान्य अवस्थामा काठमाडौंदेखि साउदी अरबको उडानका लागि २२ हजारदेखि २५ हजार रुपैयाँसम्म पर्ने गरेको व्यवसायीहरू बताउँछन् । तर, लकडाउनको फाइदा उठाउँदै ट्राभल एजेन्टहरूले टिकटमा कालोबजारी गरेको उनीहरूको आरोप छ । सरकारले भारतीय श्रमिकलाई साउदी उडानका लागि अनुमति दिएकै दिन २ हजार ४ सयवटा टिकट बिक्री भएको संघले बताएको छ । नयाँ पत्रिका दैनिकबाट

    प्रतिक्रिया दिनुहोस्