images
images
  • बाजुरामा २२ वर्षीया युवती बनिन् महाधिवेशन प्रतिनिधि

    नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले जिल्ला अधिवेशन जारी छ । पुरानो पुस्ताबाट खासै राजनीतिक उपललब्धि हुन नसकेको भन्दै वडा तहदेखि नै युवाले पनि नेतृत्व लिन थालेका छन् ।

    बाजुरामा सम्पन्न कांग्रेसको सातौं जिल्ला अधिवेशनबाट देशकै कान्छो कांग्रेस महाधिवेशन प्रतिनिधि छानिएका छन् । जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा ६०२ मत ल्याएर २२ वर्षीया रीता शाही महाधिवेशन प्रतिनिधिमा विजयी भएकी हुन् । खस-आर्य कोटाबाट उनी महाधिवेशन प्रतिनिधि चुनिन सफल भइन् ।

    कोरोना महामारी, बाढीपहिरोलगायत जिल्लामा भएका प्राकृतिक प्रकोपका बेला देश र विदेशबाट सहयोग जुटाउन सक्रिय शाही सामाजिक अभियन्ताका रूपमा पनि चर्चित छिन् । नर्सिङ क्षेत्रकी भए पनि शाही पछिल्लो समय गाउँ, समाज अनि देश बदल्न भन्दै सक्रिय राजनीतिमा होमिएकी छन् ।

    साहित्य र संगीतमा समेत रुचि राख्ने शाहीले ‘तीतामिठा’ गजल संग्रह प्रकाशनका साथै ६ वटा सांगीतिक एल्बम पनि बजारमा ल्याइसकेकी छन् । यसैबीच बाजुरामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा पक्षको वर्चस्व रहे पनि यस पटक जिल्ला कार्यसमितिमा संस्थापन समूहले ठूला हार खानु परेको छ।

    स्थानीय कांग्रेस नेताका अनुसार एक जना सहसचिवबाहेक सबै पदाधिकारी तथा सदस्यमा वरिष्ठ नेता रामचन्द पौडेल र सिटौला पक्षका उम्मेदवार विजयी भएका छन् ।२५ जना निर्वाचित प्रतिनिधिमा पौडेल-सिटौला पक्षका १५ र देउवा पक्षका १० जना विजयी भएका छन् । जिल्ला कार्यसमितिमा ८० प्रतिशत बहुमत विजयी गरेको पौडेल-सिटौला समूहले महाधिविशन प्रतिनिधिमा पनि बहुमत पुर्‍याएकाे छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images