images
images
  • एमालेमा पराजित नेता सोही पदमा मनोनीत हुन पाउने

    काठमाडौं – एमालेमा पराजित नेता सोही पदमा मनोनीत हुन पाउने भएका छन् । एमालेको विधान महाधिवेशनको हलले पराजित नेतालाई सोही पदमा मनोनीत हुन नपाउने गरी विधानमा राख्न माग गरेको थियो । तर, नेतृत्वले त्यसलाई अस्वीकार गरेको छ ।

    अब एमालेमा निर्वाचनमा उठेर पराजित भएका व्यक्ति आफू उठेकै पदमा मनोनीत हुन पाउने भएका छन् । जस्तै, केन्द्रीय सदस्यमा हारेको नेता पछि त्यही पदमा मनोनीत हुन पाउने भएका छन् । एमालेमा कोषाध्यक्ष राख्न विधान महाधिवेशन हलले माग गरेको थियो । तर, आर्थिक विभाग प्रमुख नै कोषाध्यक्ष हुने व्यवस्था गरिएको छ ।

    केन्द्रीय सदस्य बन्ने मापदण्ड
    एमालेले केन्द्रीय सदस्य हुने मापदण्ड संशोधन गरेको छ । विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले प्रतिनिधिहरूले उठाएका प्रश्नको जवाफ दिँदै केन्द्रीय सदस्यको मापदण्ड संशोधन गरेको बताए । एमाले केन्द्रीय सदस्य बन्न ६ वटा मापदण्ड तोकिएको छ ।

    जसमा केन्द्रीय निकायको सदस्य भएको, राष्ट्रिय परिषद् सदस्य भइसकेको, प्रदेश कमिटीको सदस्य भएको, केन्द्रीय विभागको सचिव या सदस्य भएको, १० वर्ष पार्टी सदस्य भएर जिल्लामा एक कार्यकाल काम गरिसकेको, दलित, महिला, अपांगता भएका सीमान्तकृतको हकमा भने सात वर्षा पार्टीमा काम गरेको र एक कार्यकाल जिल्ला कमिटीमा बिताएको हुनुपर्नेछ ।

    १५ आयोग रहने, पदाधिकारी संख्या पनि घटाइयो
    एमालेमा अब १५ आयोग रहने भएको छ । आयोगमा रहने पदाधिकारीको संख्या पनि घटाइएको छ । पहिले आयोगमा रहने पदाधिकारीको संख्या २१ थियो । तर, अब १५ जना मात्र रहनेछन् । एमाले उपमहासचिव विष्णु पौडेलले आयोगमा अब अध्यक्ष, उपाध्यक्ष र सचिव १५ जना रहने जानकारी दिए । धेरै आयोग हुँदा कार्यसम्पादनमा असर परेको तथा खर्च पनि बढेकाले १५ वटामा झारिएको बताए ।

    बन्यो शक्तिशाली तीन आयोग
    एमालेले १५ मध्ये तीन आयोगलाई शक्तिशाली बनाएको छ । अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग अब सोझै महाधिवेशनप्रति मात्र उत्तरदायी हुनेछन् । यी आयोग केन्द्रमा मात्र रहनेछन् । यी आयोगलाई शक्तिशाली बनाउनका लागि महाधिवेशनप्रति उत्तरदायी रहने बनाइएको उपमहासचिव विष्णु पौडेलले जानकारी दिए । लेखा परीक्षण आयोगको नाम संशोधन गर्दै लेखा आयोग बनाइएको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images