काठमाडौं – नेकपा एमालेको जारी विधान महाधिवेशनमा सहभागी अधिकांश प्रतिनिधिले पार्टीमा एक व्यक्ति एक पदको अवधारणा लागु गर्नुपर्ने सुझाव दिएका छन् । पार्टी नेतृत्ववाट पेस भएका राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रस्तावमा यस विषयमा स्पष्ट व्यवस्था नभएको भन्दै सहभागीले एक व्यक्ति एक पदको अवधारणामा जोड दिएका हुन् ।
विगतमा माधव नेपाल समूहले जोडदार रूपमा उठाउँदै आएको यो विषयलाई महाधिवेशन हलले समेत उठाएको छ । १० समूहमा भएको छलफलका अधिकांश समूहबाट एक व्यक्ति एक पदको विषय उठाइएको जनवर्गीय संगठनको तर्फबाट टोली नेता बनेकी अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले जानकारी दिइन् ।उनका अनुसार राजकीय जिम्मेवारीबाहेकका पदमा एक व्यक्ति एक पद कायम गर्न सके कार्यकर्ता र नेता पंक्तिमा देखिने नैराश्य समाप्त हुन सुझाव दिइएको छ ।
शनिवार पाँच र आज (आइतबार) पाँच समूहले समूहगत छलफलपछि रिपोर्टिङ पेस गरिसकेका छन् । अब समूहले उठाएको प्रश्नमा अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिएपछि महाधिवेशन घोषणापत्र जारी गर्दै सम्मेलन सकिनेछ । समूहगत छलफलमा प्रतिनिधिहरूले संसद विघटनको विषयमा प्रश्न उठाए पनि समूहगत छलफलको निष्कर्ष सुनाउने बेलामा सबै टोलीनेता यस विषयमा मौन बसेका छन् । पोलिटव्युरो हटाउने, उपमहासचिवको पद नराख्ने जस्ता प्रस्तावित विधानको व्यवस्थामा समेत सहभागीहरूले असन्तुष्टि जनाएका छन् ।
वरिष्ठ नेता नराख्ने प्रस्तावमा खास वास्ता नगरेका प्रतिनिधिले उपाध्यक्षको संख्या घटाउन नहुने, तीनजना उपमहासचिव राख्नुपर्ने, सचिवको संख्या घटाउन सकिने, ७० वर्षे उमेरहदको व्यवस्थालाई थप व्याख्या गर्नुपर्ने, पार्टीको नीति र सिद्धान्तमा प्रष्ट व्याख्या गर्नुपर्नेजस्ता विषय उठाएका छन् । तत्कालीन नेकपा माओवादी केन्द्रबाट समाहित भएर आएका टोली नेताहरूले भने एमालेलाई तत्कालीन नेकपाको निरन्तरताको रूपमा व्याख्या गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
केन्द्रीय सदस्य प्रभु शाहको एउटा टोली यही विषयमा विमति राख्दै महाधिवेशनमा सहभागी नभइरहेको बेला महाधिवेशन हलले समेत यो विषयलाई चासोका साथ हेरेको सहभागीहरूले बताएका छन् । समूहगत छलफल सकिएलगत्तै अध्यक्ष ओली महाधिवेशनस्थल पुगेका छन् । यतिबेला खाना खाने र नाचगानको क्रम चलिरहेको छ ।


विश्व खबर 


















