काठमाडौं –एमालेले कांग्रेसलाई दलाल पुँजीवादीको कित्तामा चित्रित गरेको छ । शुक्रबारबाट सुरु भएको पार्टीको प्रथम विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई दलाल पुँजीवादी, माओवादीलाई अस्थिर र मधेसवादी दललाई संकीर्ण उल्लेख गरेका छन् ।
‘नेपाली कांग्रेसको दलाल पुँजीवादी वर्ग चरित्र, नवउदारवादी पुँजीवादी बाटो, यथास्थितिवाद र राष्ट्रियताका विषयमा ढुलमुले एवं सम्झौतापरस्त क्रियाकलापप्रति हाम्रो विरोध छ । यो पार्टी हाम्रो मुख्य प्रतिष्पर्धी पार्टी हो’, प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले उल्लेख गरेका छन् ।
माओवादी केन्द्र र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ लाई अस्थिर, अवसरवादी एवं विभाजनकारी सोच रहेको आरोप लगाउँदै ओलीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘माओवादी केन्द्र, मूलतः प्रचण्डका अस्थिर, अवसरवादी एवं विभाजनकारी सोच र व्यवहारप्रति हाम्रो विमति छ ।’
मधेसवादी दलको संकीर्ण, यथास्थितिवादी सोचप्रति एमालेको असहमति रहेको ओलीले बताएका छन् । ‘मधे-केन्द्रित दलका संकीर्ण, यथास्थितिवादी एवं राष्ट्रियताका विषयलाई असर पुर्याउने सोच र गतिविधिप्रति हाम्रो असहमति छ’, ओलीले राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् । केही दलहरू राजनीतिक राजतन्त्र फर्काउन चाहेकोप्रति आपत्ति रहेको भन्दै उनले भनेका छन्, ‘कतिपय दलहरु राजतन्त्र फर्काउन चाहन्छन्, कति धर्मलाई राजनीतिक हतियार बनाउन चाहन्छन् । यसमा हाम्रो आपत्ति र विरोध छ ।’
ओलीको चासोमा ल्याटिन अमेरिका, चीन, अफगानिस्तान
ओलीले विधान महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ल्याटिन अमेरिका, चीन, अफगानिस्तान जस्ता देश मात्र मुख्य चासोको रूपमा देखिएको छ । ४४ पृष्ठ लामो ओलीको राजनीतिक प्रतिवेदनमा भारतप्रति नरम नीति अवलम्बन गरिएको छ । उनले हालै अफगानिस्तामा भएको राजनीतिक उथलपुथलको बाछिटा नेपालमा पनि पर्न सक्ने उल्लेख गरेका छन् ।
‘अफगानिस्तान घटनाका बाछिटा दक्षिण एसियामा पर्न सक्ने र अफगानिस्तानलाई लिएर भूराजनीतिक तनाव सिर्जना हुन सक्ने सम्भावनालाई पनि ध्यानमा राख्दै नेपाल स्पष्ट रूपमा अहस्तक्षेप, लोकतन्त्र, खुल्लापन र क्षेत्रीय शान्तिका पक्षमा दृढतापूर्वक उभिनुपर्छ,’ प्रतिवेदनमा उल्लेख छ ।
ओलीले लोकतान्त्रिक प्रणालीमाथि विभिन्न मुलुकमा चुनौती खडा भएको उल्लेख गरेका छन् । ‘म्यान्मारमा ‘कु‘ भएको छ र नेतृ आङ सान सुचीलगायत लोकतन्त्रवादी नेताहरूलाई गिरफ्तार गरिएको छ । शान्तिपूर्ण प्रदर्शनमाथि हिंसात्मक दमन भएको छ,’ उनले लेखेका छन्, ‘ल्याटिन अमेरिकाका विभिन्न मुलुकमा वामपन्थी सरकार र आन्दोलनलाई असफल बनाउन हस्तक्षेप र षडयन्त्र जारी छन् । यसका बाबजुद त्यहाँ वामपन्थी आन्दोलनले नयाँ गति लिइरहेको छ ।’
ओलीले चीन र भारतबीचको तनावको असर समग्र दक्षिण एसियामा परेको उल्लेख गरेका छन् । ‘चीन र भारतबीच सुरु हुन लागेको संवाद, समझदारी र सहकार्यलाई तनाव र सीमा विवादले विस्थापन गर्दै लगेको छ । दुई देशबीच संवाद भए पनि समस्या कायमै छ । दुई देशबीचको तनावको असर समग्र दक्षिण एसियामा अनुभूत भएको छ । भारत– पाकिस्तानबीच तनाव जारी नै छ । भारतसँग नेपाललगायत विभिन्न छिमेकी मुलुकका कतिपय विवादित विषय अझै समाधान हुन सकेका छैनन्,’ उनले लेखेका छन् ।
उनले विश्व प्रतिस्पर्धाको केन्द्र एसिया–प्रशान्त क्षेत्र बन्न थालेको र अमेरिकाले अगाडि सारेको इन्डो–प्यासिफिक स्ट्राटेजी यसै विषयतिर लक्षित रहेको उल्लेख गरेका छन् । ‘हालै अस्ट्रेलिया, बेलायत र अमेरिकाबीच भएको नयाँ सुरक्षा सम्झौता (ओकस) ले यस क्षेत्रमा तनाव सिर्जना गरेको छ,’ ओलीले लेखेका छन् ।
भारतसँग नेपालको सीमा र सुरक्षा चासो भए पनि ओलीले प्रतिवेदनमा खासै केही उल्लेख गरेका छैनन् । उनले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ता क्षेत्रमा नेपाली भूभाग फिर्ता, सीमाको व्यवस्थापन, नेपालको आन्तरिक मामिलामा हुने अनावश्यक चासो र हस्तक्षेप जस्ता विषयमा नेपाली जनताले चासो राखेको मात्रै उल्लेख गरेका छन् । यसबारे पार्टीको धारणा उल्लेख छैन ।
एमालेका ११ वैचारिक आधार
अध्यक्ष ओलीले माक्र्सवाद–लेनिनवाद र जनताकोबहुदलीय जनवादको वैचारिक मार्गदर्शनलाई पार्टीको मुख्य वैचारिक आधार उल्लेख गरेका छन् ।
‘कम्युनिस्ट पार्टी स्वेच्छिक रूपले सामाजिक परिवर्तनमा समर्पित हुन तत्पर, त्यसका लागि आवश्यक पर्दा बलिदान दिन तयार तथा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणबाट दीक्षित व्यक्तिहरूको अनुशासित, सचेत र स्वयंसेवी संस्था हो । त्यसैले पार्टी संरचना प्राविधिक विषय होइन,’ ओलीले लेखेका छन् ।
उनले पार्टी निर्माणका वैचारिक आधार ११ वटा प्रस्तुत गरेका छन् । यी हुन् ओलीले उल्लेख गरेका वैचारिक आधार :
– माक्र्सवाद–लेनिनवाद र जनताकोबहुदलीय जनवादको वैचारिक मार्गदर्शन
– द्वन्द्वात्मक-ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोण
– श्रमजीवी वर्ग पक्षधरता
– देशभक्तिपूर्ण भावनाका साथ देश र जनताकोपक्षमा निरन्तर क्रियाशीलता
– राष्ट्रिय पुँजी निर्माण
– प्रगतिशील उत्पादक शक्तिको विकास
– स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रको स्थापना
– जनताको बहुदलीय जनवादको कार्यान्वयन तथा समाजवादका आधार निर्माणको कार्यदिशा
– संसारभरका श्रमजीवी तथा शान्तिप्रेमी जनताको आन्दोलनप्रतिको ऐक्यवद्धता एवं विश्व मानवतावादको पक्षधरता
– दक्षिणपन्थी र उग्रवामपन्थी आवरणमा देखा पर्ने अवसरवाद विरुद्धको सतत् वैचारिक संघर्ष
– अनुभवको निरन्तर विश्लेषण र संश्लेषणका माध्यमबाट नेपाली क्रान्तिका सिद्धान्तको विकास प्रयोग गर्दै अघि बढ्ने ।


विश्व खबर 


















