images
images
  • बालुवाटारमा सर्वदलीय बैठक जारी, एमालेद्धारा बहिष्कार

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सर्वदलीय बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठक संसदको अवरोधलाई निकास दिने लगायतका विषयमा केन्द्रित छ ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई बोलाइए पनि नेकपा एमाले भने सहभागी छैन । संसद बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले लगातार अवरोध गर्दै आएको छ । आजै आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । त्यसअघि सहमति जुटाउने प्रयासमा प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।

    संसदको अवरोध खुलाउन सभामुख अग्निप्रसाद सापकोटाले पहल गरे पनि निकास ननिस्किएपछि प्रधानमन्त्रीले नै पहल थालेका हुन् । सभामुख सापकोटाले बोलाएको बैठकमा पनि प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली सहभागी भएका थिएनन् ।

    किन बहिष्कार गर्‍यो एमालेले सर्वदलीय बैठक ?
    संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेपनि संसद्‍मा प्रतिनिधित्व गर्ने अन्य दल भने सहभागी हुने भएका छन् । एमालेले आफूले हटाएका १४ सांसदलाई कारबाहीको सूचना टाँस गरी सभामुख अग्निप्रसाद सापकोटाले मार्ग प्रसस्त नगरेसम्म संसद् गतिरोधलाई लिएर डाकिएका कुनै पनि बैठकमा सहभागी नहुने जनाएको छ ।

    एमाले कार्यालय सचिव शेरबहादुर तामाङले नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता सहभागी भएर संसद गतिरोध अन्त्यका लागि गरिने छलफलको कुनै औचित्य नभएकाले सहभागी नहुने बताए । उनले सभामुखसमेत यो प्रकरणमा दोषी रहेको भन्दै सभामुखले डाकेको छलफल पनि यसअघि बहिष्कार गरेको स्मरण गर्दै भने, ‘विगतमा सभामुखले डाकेको बैठकमा पनि गएनौँ, अहिले संसद् चलाउने विषयमा हुने भनिएको छलफलमा पनि हाम्रो सहभागिता रहँदैन ।’

    अरू को-को जाँदैछन् बैठकमा ? 
    एमालेले बहिष्कार गरेपनि सत्ता गठवन्धन दलका शीर्ष नेतासहित राप्रपा, नेमकिपा र लोकतान्त्रिक समाजवादी पार्टीले भने बैठकमा जाने बताएका छन् । अपराह्न ३ बजे डाकिएको बैठकमा संसद् गतिरोध हटाउने उपायमा छलफल गर्ने भनिएको छ । तर, संसद अवरोध गरिरहेको दल नै बैठकमा सहभागी नहुने भएपछि बैठकले कुनै निष्कर्ष निकाल्न सक्ने अवस्था भने छैन ।

    बुधबार बसेको नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले भने एमाले सहमतिमा नआउने अवस्था आए संसद् चलाउनुको औचित्य नहुने भन्दै संसद् अधिवेशन अन्त्य गर्नुपर्ने निष्कर्ष निकालिसकेको सो पार्टीका नेता देव गुरुङले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images