images
images
  • ईश्वर पोखरेलको प्रतिवेदन : पार्टीमा युवा ह्वात्तै बढे, केन्द्रमा २० र स्थानीय तहमा १० प्रतिशत माधव नेपालले लगे 

    काठमाडौं – एमाले महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रसँगको एकता भंग भएपछि पार्टीमा युवा पुस्ताको आकर्षण ह्वात्तै बढेको दाबी गरेका छन् ।
    एमालेको जारी स्थायी कमिटी बैठकमा आसन्न विधान महाधिवेशनमा पेस गरिने संगठनात्मक प्रतिवेदनको मस्यौदा प्रस्तुत गर्दै पोखरेलले एकतापछि मात्र पार्टीमा चार लाख सदस्य थपिएका र तीमध्ये अधिकांश युवा रहेको दाबी गरेका छन् ।  उनले माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएपछि  एमालेले केन्द्रमा २० प्रतिशत नेता गुमाएको उल्लेख गरेका छन् भने प्रदेश र स्थानीय तहसमेतका गरेर १० प्रतिशत जनप्रतिनिधि पार्टीले गुमाएको उल्लेख गरेका छन् ।

    प्रतिवेदनमा उनले पार्टीको सदस्य वढेको बताए पनि १० बुँदे सहमतिले भने २ जेठ २०७५ अघिका संगठित सदस्यले मात्र महाधिवेशनमा भाग लिन पाउने भनेको छ ।  पोखरेलले थप भएका सदस्यको आगामी महाधिवेशनमा कस्तो भूमिका हुन्छ भन्ने विषयमा भने केही उल्लेख गरेका छैनन् ।

    त्यस्तै , पार्टी सदस्यता लिने संख्या ६ लाख हाराहारी पुगेको जनाएको छ । विधान महाधिवेशनमा पेश गर्न तयार संगठनात्मक प्रतिवेदन मस्यौदामा पार्टी सदस्यता लिने संख्या दोब्बरभन्दा धेरैले बढेको उल्लेख छ । प्रतिवेदनअनुसार २०७१ सालको नवौं राष्ट्रिय महाधिवेशनसम्म एमालेको पार्टी सदस्यता संख्या २ लाख ५६ हजार ७७२ थियो । तर अहिले बढेर ६ लाख हाराहारी पुगेको प्रतिवेदनमा उल्लेख छ । गत ५ पुसमा प्रतिनिधिसभा विघटन गर्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णयपछि एमालेमा युवाको आकर्षण बढेको महासचिव ईश्वर पोखरेलले पेश गरेको प्रतिवेदनमा छ ।

    ‘२०७७ पुस ५ पछिको अवस्थामा पार्टीमा युवाहरुको आकर्षण बढेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यस बीचका अनेक किसिमका राजनीतिक र संगठनात्मक उचारचढाव र प्रतिकूलताका बीचमा नयाँ सदस्यता प्रदान गर्ने र सदस्यता नवीकरण गर्ने काम अघि बढाइएको छ ।’ गत ८ भदौको स्थायी कमिटी र १० भदौको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको दश बुँदे सहमतिअनुसार भने पार्टी सदस्यता २ जेठ २०७५ अगाडिको आधारमा गर्ने भनिएको छ । तर संगठनात्मक प्रतिवेदनले भने ५ पुस यता ठूलो संख्यामा सदस्यता लिने संख्या बढेको उल्लेख गरेको छ ।

    तर थपिएका साढे तीन लाख सदस्यता अभिलेख भने तयार नभएको प्रतिवेदन मस्यौदामा उल्लेख छ । ‘सदस्यता नवीकरण गर्ने, नयाँ सदस्यता प्रदान गर्ने, अरु समूहबाट आएकाहरुको नवीकरण वा नयाँ सदस्यता प्रदान गर्ने जस्ता कुरामा रहन गएको लामो समयको अलमलले सदस्यताको अभिलेख पूर्ण रुपमा व्यवस्थित गर्न सकिएको छैन,’ पोखरेलले लेखेका छन् । मस्यौदा प्रतिवेदनले माओवादीसँग एकता गरेपछि अलमलमा परेको संगठन विस्तार विभाजन पनि तीव्र बनेको समेत उल्लेख छ ।

    एमालेको स्थायी कमिटी बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी छ । बैठकमा पार्टी अध्यक्ष केपी ओली, उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भूसालसहितका नेताहरू सहभागी छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images