काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिस्थापन विधेयकले सबै संसदीय मर्यादा नाघेको टिप्पणी गरेका छन् ।
संसद् भवनमा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘प्रतिस्थापन विधेयकले संसदीय मर्यादा, प्रक्रिया सबैलाई नाघेको छ । बलजफ्ती मात्रै हो । छलछामपूर्ण छ । यो नेगेटिभ इन्टेन्सनले आएको छ ।’
प्रतिस्थान विधेयकको मनसाय नै ठिक नभएको ओलीको भनाइ थियाे । ‘यसले देशको अर्थतन्त्र र विकासमा चुनौती छ । गर्नुपर्ने काम, जनताका सामस्याका सम्बन्धमा, अर्थतन्त्रलाई कसरी सरल बनाउने, अगाडि बढाउने, माथि उठाउने सम्बन्धमा विधेयकमा केही पनि आएको छैन । यो पार्टीको वक्तव्य जस्तो छ । यसमा ध्वंशात्मक मनोविज्ञान र प्रवृत्तिहरू छन्,’ उनले भने ।
ओलीले आफूले ल्याएका विकासका आयोजनाहरु कटौती गरिएकोमा आक्रोश पोखे । ‘पूर्वाधार विकास कटौती गरिएको छ । जनतामा पुर्याउने सहुलियत हटाइएको छ । नक्कली कुराहरू राखिएको छ,’ उनले भने ।
ओलीले प्रतिस्थापन विधेयक कार्यकर्तालाई पकेट खर्च बाँड्ने गरी ल्याएको पनि आरोप लगाए ।
‘पाँच लाख मान्छेलाई १०/१० हजारका दरले दिने रे । कसलाई दिने ? यसले सत्ताधरी गठबन्धनभित्र समस्या पैदा गरेको छ । जसरी पनि टिकाउनुपर्छ भन्ने यो सरकारको नीति हो भने ठिकै होला । तर यो विल्कुल ठिक छैन । मनसाय ठिक छैन । कार्यान्वयन स्वेच्छाचारी हुनेछ । एउटा पार्टीको कार्यकर्तालाई पकेट खर्च चाहिएको छ भनेर आएको छ,’ उनले भने ।
उनले यो विधेयक गरिबका लागि नभएको पनि उल्लेख गरे । ‘कुन गरिबलाई वितरण गर्ने ? मनगणन्ते छ । यसले मानव संशाधनको विकास सम्बन्धमा छुट्याएको बजेट पनि कटौती गरेको छ । पूर्वाधार विकास पनि छैन । आयोजनाहरु काटियो । राष्ट्रपति शिक्षा कार्यक्रम स्थगित गरिएको छ । बनाउन केही नसक्ने, भत्काउने कुरा मात्रै गरेको छ,’ ओलीले भने, ‘अब घण्टाघर भत्काउने कुरा लगभग घोषणा गरेको छ । भत्काउन सक्छ तर बनाउन चाहिँ सक्दैन । यस सरकारले बनाउँदैन । घण्टाघर पनि देखिसहेन । स्वच्छाचारी भयो । विधि नियम मानेको छैन ।’


विश्व खबर 


















