धनगढी – सुदूरपश्चिम प्रदेशको बाजुरा र कैलाली वाहेकका जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन सकिएको छ । प्रदेशका ९ जिल्लाका ७ सय ४४ वडामध्ये ५ सय ३५ वडामा अधिवेशन सम्पन्न भएको हो । विभिन्न जिल्लाका निर्वाचन अधिकृतहरूले दिएको जानकारी अनुसार कञ्चनपुरका ९२, अछामका ९१, बैतडीका ८४, दार्चुलाका ६१, डोटीका ६५ र बझाङका ९४ वडामा अधिवेशन सकिएको छ ।
विवादित बनेको नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा विरोधका बीच ४८ वडामा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार जिल्लाका ५२ वडामध्ये ४८ वडामा नयाँ नेतृत्व चयन भएको हो । ‘३८ वडामा सर्वसम्मति र १० वडामा निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन भएको छ,’ निर्वाचन अधिकृत बमले भने, ‘अजयमेरु गाउँपालिका–३, अमरगढी नगरपालिका–८, नवदुर्गा गाउँपालिका–१ मा अधिवेशन हुन बाँकी छ ।’
डडेलधुरा जिल्लाका कांग्रेस सभापति कर्ण मल्लको समूहले बहिष्कार गरे पनि अधिवेशन गरिएको हो । यस्तै गरी कैलालीको निर्वाचन क्षेत्र १, २ र ४ मा क्रियाशील सदस्यको विवादका कारण वडा अधिवेशन अनिश्चित बनेको छ । जिल्ला उपसभापति प्रकाश बमले भने, ‘विवाद समाधानका लागि केन्द्रमा छलफल भइरहेको छ । तर, अहिलेसम्म टुङ्गो नलाग्दा अधिवेशन अनिश्चित भएको हो ।’
तेह्र वटा स्थानीय तह रहेको कैलालीमा १ सय २६ वडा रहेका छन् । देउवा पत्नी आरजु राणा देउवाको निर्वाचन क्षेत्र नम्बर ५ हो । गएको प्रतिनिधि सभाको निर्वाचनमा उनी क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिए पनि पराजित भएकी थिइन् । त्यस्तै गरी बाजुरामा पनि केन्द्रबाट क्रियाशील सदस्यता थपेको बन्दै विवाद छ । जिल्ला सभापति कविराज पण्डितले भने, ‘एकरदुई दिनमा क्रियाशील सदस्यको नामावली प्रकाशन हुने सूचना प्राप्त भएको छ ।’ नामावली प्रकाशन भएपछि वडा अधिवेशनको मिति तय हुने उनले बताएका छन् ।


विश्व खबर 


















