काठमाडौं। पश्चिमी न्यून चापीय प्रणालीका साथै भारतमा विकसित ‘ताउ–ते’ चक्रवातको प्रभावका कारण नेपालमा केही दिन मौसम बदली आउनुका साथै विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
अझै ३ दिनसम्म वर्षा–हिमपात जारी रहने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश–२ र प्रदेश–१ मा आंशिक तथा देशका बाँकी स्थानमा सामान्यदेखि पूर्णसम्म बदली छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
वर्षा हुने क्रम भोलि बिहीबार अझ बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशााखाले आज बुधबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो तथा राति देशका धेरैजसो स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना छ ।
दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना भने कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि छ ।
यस्तै दिउँसो उच्च हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात, वर्षाको सम्भावना छ । आज राति पनि कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
उच्च हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात तथा वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाको मात्रा भोलि अझ बढ्ने मौसमविद्ले अनुमान गरेका छन् । मौसमविद्का अनुसार भोलि बिहीबार दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । थोरै स्थानमा भारी वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा अति भारी वर्षा समेत हुने सम्भावना छ ।
बिहीबार राति पनि कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । थोरै स्थानमा भारी वर्षा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा अति भारी वर्षा समेत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार उच्च हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात–वर्षाका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च हिमाली भेगका थोरै स्थानमा साथै अन्य प्रदेशका १–२ स्थानमा भारी हिमपातको समेत सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले आज ९बुधबार० बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ ।
जसमा भनिएको छ–कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावनासमेत छ । जसका कारण खोलानालामा जलप्रवाहसमेत बढोत्तरी हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’
शुक्रबारबाट भने वर्षाको मात्रा केही कम हुने अनुमान मौसम महाशाखाले गरेको छ । महाशाखाका अनुसार शुक्रबार दिउँसो कर्णाली, सुदूरपश्चिम प्रदेशका केही ठाँउ र बाँकी पहाडी भेगका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । कर्णाली, सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ । शुक्रबार राति पनि प्रदेश–१ को पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति २०७८ जेठ ५ गते बुधबार ०२:२२