काठमाडौँ । सत्तारूढ दल नेकपा एमालेको विवाद समाधान कार्यदलमा माओवादी केन्द्रसँग पुनः एकता गर्नुपर्ने आवाज उठेको छ ।
मंगलवार बसेको कार्यदलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरूले नेकपालाई पुनः एकताबद्ध बनाउनुपर्ने माग राखेका हुन् ।
कार्यदलका एक सदस्यले , ‘एमालेको विवाद समाधानको कुरा आफ्नो ठाउँमा छ, तर हामीले माओवादी केन्द्रसँग एकता गर्ने कुरालाई पनि जोड दिएर उठाएका छौं ।’
सर्वोच्च अदालतले नेकपाको एकतालाई भंग गरिदिएपछि माधवकुमार नेपाल पक्षले पार्टीलाई एकताअघिकै स्वरूपमा लैजानुपर्ने र पुनः एकताको पहल गर्नुपर्ने माग राखिरहेको छ ।प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि आफूखुसी सांगठानिक संरचना बनाएका थिए ।
पूर्व माओवादी पृष्ठभूमिका नेताहरूलाई जिम्मेवारीमा ल्याएर ओलीले नेपाल समूहका नेताहरूलाई जिम्मेवारीमुक्त बनाउने कामसमेत गरेका थिए ।त्यसलगत्तै नेता नेपालले पनि देशभर समानान्तर संगठन निर्माणमा जोड दिए । लगभग सबै जिल्लामा नेता नेपालको समानान्तर संगठन अस्तित्वमा रहेको छ ।
गत वैशाख २७ गते एमालेको नेपाल पक्षका २८ जना सांसदहरूले ओलीलाई विश्वासको मत दिएनन् । उनीहरू तटस्थ बसेका थिए । त्यसपछि एमालेमा कार्यदलको गठन भएको थियो ।
कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । नेता नेपालका तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

कार्यदललाई विवाद समाधान गर्ने प्रतिवेदन तयार गर्न ३ दिनको समयसीमा दिइएको थियो । तेस्रो दिनमा आज बसेको कार्यदलको बैठकमा नेकपाको एकतालाई अक्षुण राख्नुपर्ने माग उठेको हो ।
नेपाल पक्षका नेताहरूले पार्टी एकताको कुरा उठाएपछि ओली पक्षीय नेताहरूले पहिला एमालेमा ध्यान दिन आग्रह गरेका थिए ।
‘हामीले नेकपाको एकतालाई अस्वीकार गरेका कहाँ छौं र,’ ओली समूहका एक नेताले कार्यदल बैठकमा भने, ‘तर अहिले हाम्रो मुख्य ध्यान एमालेको विवाद समाधान गर्नेतर्फ हुनुपर्छ ।’
ती नेताले त्यसो भन्दा भीम रावल कड्किए, ‘एकता भाँड्ने पनि तपाईंहरू नै होइन रु एमाले विभाजन गर्न खोज्ने पनि तपाईंहरू नै होइन रु अहिले एकताको पक्षमा आफूबाहेक अरू कोही नभए जस्तो कुरा गर्ने रु’
माओवादीमा पनि चल्यो एकताको कुरा :
एमालेसँग पुनः एकता गर्नुपर्ने विषय माओवादी केन्द्रमा पनि जोडतोडले उठिरहेको छ । स्थायी कमिटी सदस्य जनार्दन शर्माले त सामाजिक सञ्जाल फेसबुकमा नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरेर देशलाई आत्मनिर्भर अर्थतन्त्र र आर्थिक समृद्धि हासिल गर्दै सामाजिक न्याय स्थापनाका लागी राजनैतिक स्थिरता कायम गर्ने र राष्ट्रिय स्वाधीनताको सुदृढीकरण गर्ने उदेश्यमा केन्द्रित भएको उल्लेख गरेका छन् ।
देशी विदेशी शक्ति मिलेर एकता फुटाए, तर हिम्मत नहारौँः नारायणकाजी श्रेष्ठ
‘लाखौं जनताले अनुमोदन गरेको एकता,त्याग र बलिदान बाट प्राप्त उपलब्धि जनअधिकार,कानुन,बिधि र पद्धतिलाई अस्विकार गर्ने प्रवृत्तिका कारण, प्रतिक्रान्तिकारी शक्ति सन्तुलन र भुराजनैतिक प्रभावका कारण सफल हुन सकेन । फेरि पनि देश र जनताको हितमा उठाएको एकताको झण्डालाई निरन्तर उठाउने कुराको महत्त्व यस घटनाबाट किमार्थ कम हुन सक्दैन,’ उनले लेखेका छन् ।
नेकपा माओबादी केन्द्रका नेता जनाजन शर्मा ( प्रभाकर) ले समेत एमालेसंगकाे एकता नयाँ ढंगले अगाडि बढाउन नेतृत्वलाई निरन्तर दवाव दिईरहेका छन् । केही अगाडि सर्वजानिक रुपमा समेत एमाले लगाएत अन्य पार्टिलाई मिलाएर लैजानुपर्ने तर्क गरेका थिए।
एमालेसँग एकता गरेर अघि बढ्नुपर्ने राय अधिकांश माओवादी नेताहरूको छ । तर ओलीलाई अध्यक्ष मान्न सकिने र नसकिने भन्नेमा विवाद छ ।
स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल, जनार्दन शर्मा, हरिबोल गजुरेल लगायतका नेताहरूले ओलीलाई अध्यक्ष मानेर भए पनि चुनावसम्म एकता हुनुपर्ने राय राख्दै आएका छन् । तर प्रचण्डले भने अझै केही समय कुर्नुपर्ने भन्दै सबैलाई थुम्थुम्याएका छन् ।
‘पर्खनुस न, पुनः एकताका लागि उपयुक्त समय आउँछ,’ प्रचण्डको भनाई उदृत गर्दै उनीनिकट एक नेताले भने, ‘कसलाई अध्यक्ष मान्ने र कसलाई नमान्ने भन्ने बहसमा अहिले तपाईंहरू नलाग्नुस् ।’


विश्व खबर 


















