काठमाडौं – एमालेका अध्यक्ष केपी ओलीले नेकपा (एकीकृत समाजावादी) अध्यक्ष मावधकुमार नेपाल जनआन्दोलनको उपलब्धि सिध्याउने बाटोमा लागेको आरोप लगाएका छन् ।
एमाले संसदीय दलको जारी बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेतासमेत रहेका ओलीले जनआन्दोलनको उपलब्धिसहित कम्युनिष्ट आन्दोलन र संघर्षलाई ध्वस्त बनाउन नेता नेपाल लागेको आरोप लगाएका हुन् । ‘सुरुदेखि नै एमालेका फुटाउने खेलमा लागे । आफ्नै पार्टी फुटाउने कार्य आपराधिक काम हो’, ओलीले भने, ‘पार्टी फुटाउनेदेखि जनआन्दोलनका उपलब्धि सक्ने कार्यमा उनीहरू अघि बढेका छन् ।’
गठबन्धन सरकार लोकतन्त्र समाप्त पार्न लागेको छ
अध्यक्ष ओलीले लोकतन्त्रलाई समाप्त पार्न सरकार नै लागि परेकाले सजग रहनुपर्ने बताएका छन् । एमाले संसदीय दलको बैठकपछि सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिदै ओलीले देश नै गम्भिर अवस्थामा पुगेको बताए ।
‘देश नै गम्भिर अवस्थामा छ । अनेक हिसावले यो सरकारले लोकतन्त्रलाई हुर्मत लिन र समाप्त पार्न खोजेको छ’, ओलीले भने, ‘कथित गठबन्धनमा लोकतन्त्र मास्न लागेकाहरू छन् ।’ उनले सत्तारुढ गठबन्धन आफ्नो स्वार्थका लागि मात्रै काम गरिरहेको भन्दै जे गर्न पनि तयार हुने र दृष्टिकोणविहिन मानिसहरु भएको गठबन्धनबाट लोकतन्त्रको रक्षा हुन नसक्ने बताए । ओलीले जनताको अभिमत र संसदीय प्रक्रियाबाट सरकार नबनेकाले उनीहरुमा जनताप्रतिको उत्तरदायित्व समेत नभएको बताए ।
‘लोकतान्त्रिक विधि, पद्धति र प्रक्रियाबाट आएको होइन यो सरकार, परमादेशबाट आएको’, ओलीको भनाइ छ । उनले एमालेले कारवाही गरेका १४ संसदमाथिको सूचना ननिकालेर सभामुख पार्टीको लाचार छाया भएको आरोप समेत लगाए । त्यस्तै उनले संसद अधिवेशन छापामार शैलीमा बन्द गरेर अध्यादेश ल्याएकोमा सरकारको चर्को आलोचना गरे ।‘बैठक चालु छ, संसद चालु छ । त्यस्तो अवस्थामा अचानक अधिवेशन बन्द गर्ने र विहानै अध्यादेश ल्याउने ? मध्यरातमा अधिवेशन अन्त्य भयो, भोलीपल्ट विहानै अध्यादेश ल्याउने’, ओलीले प्रश्न गरे । उनले अध्यादेशको मस्यौदा तयार गर्ने ठाउँ बुढानिलकण्ठ, कोटेश्वर वा खुमलटारमा नभएपनि गठबन्धनले त्यसै गरेको बताए । ‘अध्यादेशको मस्यौदा तयार गर्ने मन्त्रालयमा हो’,ओलीको भनाइ छ ।


विश्व खबर 


















