पोखरा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको अगुवाइमा एमाले समाप्त पार्ने अभियान चलिरहेको बताएका छन् ।
मंगलबार पोखरामा कास्कीमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमाले समाप्त पार्न प्रदेशहरुमा पनि मन्त्री बाँड्दै हिँडेको बताए । स्थानीय तहमा पनि मेयरको टिकट दिउँला भनेर प्रलोभनमा पार्ने प्रयास भइरहेको भन्दै उनले अघि भने, ‘ कांग्रेसले लड्ने आँट गरेको छैन, माधव नेपालको प्युसो !’
हिजोको दिनमा नेकपा रहँदा पनि प्रचण्ड र माधव नेपालले आफूलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउने र पार्टी कब्जा गर्ने प्रयास गरेको उनले बताए । अध्यक्ष ओलीले भने, ‘थुप्रै नेताहरु जाउँ कता जाउँ भनेर बसेको बेला युवा, विद्यार्थी साथीहरु मसाल बोकेर निस्किनुभयो । एमाले कब्जा हुँदैन भनेर उठ्नुभयो ।’
उनले एमालेसँग नेपाली काँग्रेस समेत लड्न डराइरहेको अवस्थामा माधव नेपालको प्युसोले लड्न सपना देखेको भन्दै त्यो सपना पुरा नहुने दाबी समेत गरे । ‘एमालेसँग काँग्रेस लड्न आँट गरेको छैन, माधव नेपालको प्युसो उम्रिन पाएको छैन एमालेसँग लड्ने सपना देख्छ’, ओलीको भनाइ छ । उनले आफ्नो नेतृत्वको सरकार ढाल्न पाँच भाइ जम्मा भन्दै देउसी खेलेको पनि बताए । ‘पाँच भाइ जम्मा भन्दै देउसी खेले, अहिले त जम्मा नै भए क्यारे !’
ओलीले भने, ‘अहिले एउटा बेसरम व्यक्तिको नेतृत्वमा एमालेलाई समाप्त पार्ने अभियान चलिरहेको छ ।’ नेकपा एमालेका नेता कार्यकर्ता खान मात्रै होइन देश बनाउने सोचमा भएको भन्दै उनले लामो समयदेखि पार्टीभित्र आत्मकेन्द्रीत र स्वार्थकेन्द्रीत व्यक्तिहरु रहेकाले नातागोता र परिवारबाट आक्रान्त भएको अवस्थामा माधव नेपाल बाहिरिएको बताए ।
‘कोही भाइभतिजावाद र कोही छोरी,ज्वाइँ बुहारीका लागि मरिमेट्ने । पार्टीभित्रै विभिन्न प्रकारका स्वार्थी र पदलोलुप, महत्त्वाकाङ्क्षी प्रवृत्ति हाबी भएको थियो कि देश, जनता सुशासन, विकासको बारेमा छलफल नहुने अहिले त छोडेर गए’, ओलीले अहिले जनता जागेको देखेर आफू उत्साहित भएको बताए ।
देउवा सरकारले राष्ट्रियता जोगाउन सकेन : ओली
अध्यक्ष केपी ओलीले वर्तमान सरकार राष्ट्रियता जोगाउनबाट चुकेको आरोप लगाएका छन् । उनले नेपालको भूमिमाथि बिनाअनुमति भारतीय हेलिकाेप्टर उडाइएको विषयमा मौन बसेको आरोप लगाए । ‘नेपालको आकाशमा भारतीय हेलिकप्टर उडेको विषयमा सरकार मौन बस्यो, यो सरकारले राष्ट्रियता जोगाउन सकेन’, ओलीले भने । बेपत्ता जयसिंह धामीको परिवारलाई न्याय दिनबाट पनि सरकार चुकेको ओलीको आरोप छ । अफगानिस्तानबाट नेपाली उद्धार गर्न पनि सरकार जिम्मेवार बन्न नसकेको आरोप लगाएका ओलीले भने, ‘अफगानिस्तानबाट नेपालीको उद्धार गर्नुपर्दैन ? तालिवानलाई फोन सम्पर्क गर्नुपर्दैन ?’
अध्यक्ष ओलीले अफगानिस्तानमा असुरक्षित रहेका आफ्ना नागरिकलाई उद्धार गर्न शेरबहादुर देउवाकाे सरकारले नसकेको बताएका छन् । अध्यक्ष ओलीले महिना दिन भइसक्दा पनि सरकारले असुरक्षित रहेका नेपालीलाई उद्धार गर्न नसकेको आरोप लगाएका हुन् । आफ्ना नागरिकलाई उद्धार गर्न अफगान विद्रोही तालिवानसँग सम्पर्क गरेर विमान पठाउनुपर्नेमा सरकार जिम्मेवार नबनेको भन्दै ओलीले भने, ‘अफगानिस्तानमा नेपालीको जीवन असुरक्षित छ । महिनौँ दिन भइसक्यो । तालिवानसँग फोन गरेर जहाज पठाउनुपर्थ्यो नि । तर, तालिवान घरमै आएर गालामा हान्लाजस्तो गरेर सरकार डराएको छ ।’
एमाले २ जेठमा जस्ताको तस्तै फर्कन सक्दैन
अध्यक्ष ओलीले माओवादी केन्द्रसँग एकीकरण हुनुअघि २ जेठ २०७५ को अवस्थामा जस्ताको तस्तै एमाले फर्किन नसक्ने बताएका छन् । यस्तै ओलीले १० बुँदे सहमति विवाद झिक्न नभएर समाधानका लागि गरिएको बताए । ‘१० बुँदे सहमति विवाद झिक्न होइन, समाधान गर्न हो’, उनले भने, ‘२ जेठमा पार्टी जस्ताको तस्तै फर्किन सक्दैन ।’ नेकपाबाट एमाले र माओवादी केन्द्र कानुनी रूपमा अलग भए पनि पार्टी एकता अहिले कायमै रहेको बताएका उनले प्रचण्ड समूहमात्रै बाहिरिएको टिप्पणी गरे ।
काँग्रेसको विघटन सदर, एमालेको बदर
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले संसद्ले काम गर्न पनि नसक्ने र बच्न पनि नसकेपछि आफुले विघटन गरेको दाबी गरे । तर उनले अदालतले फैसला गरेपछि मान्नुपर्ने अवस्था रहेको बताए । ‘अदालतले त जे फैसला गरे पनि मान्नुपर्छ । सबैलाई थाहा छ । मान्नुपर्ने भएपछि अदालतले पुनर्स्थापना गर्दियो’, ओलीको भनाइ छ । तर संविधानमा जेसुकै लेखिए पनि अदालतको आफ्नै नियम भएको व्यङ्ग्य गरे । ‘काँग्रेसले विघटन गर्यो भने सदर एमालेले विघटन गर्यो भने बदर । यो पहिलेदेखि हो । मनमोहनले विघटन गरे शेरबहादुर प्रधानमन्त्री, फेरि अहिले त अदालतबाट फलानालाई प्रधानमन्त्री तोकिएको छ भनेर सोझै दिने खालको परमादेश’, अदालतप्रति ओलीको कटाक्ष छ । उनले ५२ सालमा पनि अदालतले नै मनमोहनलाई हटाएको ओलीको दाबी छ ।


विश्व खबर 


















