images
images
  • ठूला दलमा महिलालाई नेतृत्व दिन कन्जुस्याइँ

    तनहुँ – शुक्रबार माओवादी केन्द्रले तनहुँको १० स्थानीय तहमा नेतृत्वको नाम टुंगो लगायो । एमालेसँगको एकता प्रक्रिया भंग भएपछि संगठन पुनर्गठन गर्दै आएको पार्टीले स्थानीय तहको अध्यक्ष र सचिवको नाम टुंगो लगाउने बेला महिलालाई जिम्मेवारी दिन कन्जुस्याइँ गरेको देखिन्छ । बन्दीपुर गाउँ कमिटीको अध्यक्षमा विद्या क्षेत्रीबाहेक अन्य महिलालाई पार्टीले नेतृत्व हाँक्ने अवसर दिएन ।

    एमालेबाट अलग भएर बनेको पार्टी नेकपा एकीकृत समाजवादीले शुक्रबार एक सय ४७ सदस्यीय जिल्ला कमिटी घोषणा ग-यो । कार्यकारी पदमा मनुमाया श्रेष्ठलाई उपसचिवको जिम्मेवारी तोकियो । २७ जना महिला मात्र जिल्ला कमिटीमा अटेका छन् ।

    शुक्रबार र शनिबार कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तनहुँका ८४ वडामा अधिवेशन सम्पन्न भएको छ । जसमध्ये चार वडामा मात्र महिला सभापति निर्वाचित भएका छन् । वडा सभापति बन्न सफल भएकामा व्यास नगरपालिका-१४ की नरीमाया राना, बन्दीपुर गाउँपालिका-४ मा सीता थापा, बन्दीपुर–५ मा रीता तिवारी र ऋषिङ गाउँपालिका–१ मा सविना राना छन्। ८० वडामा पुरुषले कब्जा जमाउँदा चारजना महिलाको संख्या झिनो हो । अनिवार्य व्यवस्था गरिएकोबाहेक अन्य पदमा पनि महिला सहभागिता कम छ ।

    दुई दिनको तीन राजनीतिक घटनाक्रमले महिलालाई नेतृत्व तहमा पुग्न अझै पनि सहज नरहेको पुष्टि गर्छ । संविधानले हरेक क्षेत्रमा महिला सहभागिता ३३ प्रतिशत सुनिश्चित गरेको छ । तर, काकार्यान्वयन कहीँकतै हुँदैन । केन्द्र र प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारमा समेत विभेदमा पर्ने महिलालाई पार्टीको जिल्ला र वडा तहको राजनीतिक नेतृत्व सुम्पन कन्जुस्याइँ गर्नु नौलो भने होइन ।

    महिलालाई हरेक क्षेत्रमा रोलक्रममा मात्रै सीमित राखिने नेपाली कांग्रेस ऋषिङ गाउँपालिका–१ मा नवनिर्वाचित वडा सभापति सविना राना बताउँछिन् । ‘महिला नेतृत्व हाँक्न सक्षम भए पनि दिइँदैन । सधैँ रोलक्रम पु¥याइन्छ’, उनले भनिन् । महिला भएकै कारण नेतृत्व गर्न नदिइने अनुभव बटुलेकी महिलाले सफल नेतृत्व गर्न सक्छ भनेर पुष्टि गर्ने गरी काम गर्ने अठोट लिएकी छन् ।

    सामन्ती पितृसत्तात्मक सोचको अन्त्य नभएसम्म महिला नेतृत्व तहमा आउन सकस भइरहने गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला बताउँछिन् । घरको काम छाडेर नेतृत्व गर भन्नलाई कन्जुस्याइँ भइरहेको उनको दाबी छ । पार्टीका नेताले पनि महिलालाई नेतृत्व दिन नचाहने कोइराला बताउँछिन् । उनी भन्छिन्, ‘महिला घरपरिवारको कामले भ्याउँदैनन्, क्षमता पुग्दैन भनेर मात्र हुँदैन । सचेत प्रयत्नद्वारा नेतृत्वमा महिलालाई ल्याउन जरुरी छ । परिवार र समाजले पनि त्यही खालको वातावरण बनाईदिनुपर्छ ।’

    एकाधबाहेक महिला पनि पुरुषसँग प्रतिस्पर्धामा होमिएर नेतृत्व लिन डराउने गरेको उनले उल्लेख गरिन् । ‘क्षमता दक्षताले नपुग्न सक्छ । नेतृत्व लिन पछाडि पर्ने हैन, काम गर्दै सिक्दै जाने हो’, उनले भनिन् । माओवादी केन्द्रकी नेतृ कोइरालाका अनुसार माओवादी जनयुद्धको बेला ४० प्रतिशतसम्म महिला नेतृत्व तहमा थिए । शान्ति प्रक्रियापछि भने घट्दै गए । बालबच्चाको स्याहारसुसार, परिवारको जिम्मेवारी, आर्थिक उपार्जनलगायत कारण महिला पछाडि हट्नुपरेको उनको बुझाइ छ ।

    गत स्थानीय तहको निर्वाचनमा जिल्लाको १० स्थानीय तहमा म्याग्दे गाउँपालिकाले मात्र मायादेवी रानालाई अध्यक्ष पायो । ८५ वडामा ऋषिङ गाउँपालिका-८ मा भविसरा आले वडाध्यक्ष निर्वाचित भएकी थिइन् । यीबाहेक महिलाले प्रमुख पद पाएनन् । संविधानले अनिवार्य व्यवस्था गरेको कोटामा मात्रै सीमित बनेका छन् महिला ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images