• एमाले कार्यदलको पहिलो बैठक ३ बजे बस्दै


    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विवाद मिलाउन गठित कार्यदलको पहिलो बैठक आज मंगलबार बस्ने भएको छ । पार्टी पुनर्मिलनका लागि आधार तय गर्न बनेको एमाले कार्यदलको पहिलो बैठक दिउँसो ३ बजे बस्ने भएको छ ।

    यसअघि कार्यदल सदस्य शंकर पोखरेल उपत्यका बाहिर र भिम रावलको आँखामा समस्या आएकाले मंगलबार बैठक बस्ने नबस्ने अनिश्चित रहेको नेताहरुले बताएका थिए ।

    अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत आइतबार भएको छलफलले दुवै तर्फका पाँच–पाँच गरी १० सदस्यीय कार्यदल बनाउने सहमति भएको थियो ।

    कार्यदलमा सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् ।

    वार्ता टोलीलाई २०७५ जेठ २ को आधारमा रहेर सहमति खोज्ने जिम्मेवारी दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस्