images
images
  • एमाले प्रतिकूलतासँग जुध्ने पार्टी हो : महासचिव पोखरेल

    काठमाडौं – नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी जुनसुकै प्रतिकूलतासँग जुध्ने पार्टी भएको बताएको छ । पार्टीको जिल्ला कमिटीले आज बनेपामा अयोजना गरेको जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेएका पोखरेलले एमाले पहिलाजस्तो थियो अहिले पनि उस्तै रहेको बताए ।

    “एमालेमा बीचको केही समय धमिलो मात्रै भएको हो, अहिले सङ्लो छ, पार्टीभित्र र बाहिरी प्रतिकूलतासँग जुध्ने पार्टीलाई केही चोइटिँदा केही फरक पर्दैन”, उनले भने । एमाले नीति र घोषणापत्रका आधारमा चलेको र चलिरहने उल्लेख गर्दै पोखरेलले अबको पार्टी नेतृत्वको संरचनामा तीन पुस्ता समेटिने बताए। उनले भने, “अबको नेतृत्व पाको, अधवैशे र युवापुस्ताको समिश्रण जिम्मेवारीमा हुन्छ ।”

    नेता पोखरेलले वरिष्ठ नेता मावधकुमार नेपाल आफैँ दुर्दशातर्फ लागेको आरोप लगाउँदै पार्टीभित्र रहँदा पराजित भएर निर्वाचितसँग समान अधिकार मागेर हास्यास्पद परिस्थिति निर्माण गरेको स्मरण गरे। “अब नेपालमा पुनः एमाले लिड पार्टी हुनेछ, गठबन्धन धेरै समय टिक्दैन”, उनले भने । उनले पार्टी सदस्यता विस्तार गरी पार्टी निर्माणतर्फ लाग्न आग्रह गरे ।

    एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले हाल विचारमा नभई नेतृत्वको सङ्घर्ष भइरहेको उल्लेख गर्दै राम्रो÷नराम्रो नेतृत्व धु्रवीकरण हुने बताए । उनले भने, “हामी पार्टी एकताको निरन्तरतामै छौँ, अबको निर्वाचनमा जनताले जनादेश, परामादेश र अध्यादेशको फैसला गर्नेछन् ।” कम्युनिष्ट आन्दोलन आँधी–तुफानझैँ गर्जेर अघि बढाइने पूर्वमन्त्रीसमेत रहनुभएका रायमाझीले जिकिर गरे ।

    एमाले केन्द्रीय सदस्य एवं सांसद गोकुल बाँस्कोटाले आफूमाथि लागेको आरोपको छानबिन गर्न र कारबाहीको दायरामा ल्याउन चुनौती दिए। “मप्रतिको आरोप पुष्टि गरेर जेलमा राख, म सजाय भोग्न तयार छु”, पूर्वमन्त्रीसमेत रहनुभएका बाँस्कोटाले भने । उनले आगामी निर्वाचनमा स्थानीय तहका सबै स्थान एमालेले जित्ने गरी सङ्गठन निर्माणमा लाग्न आग्रह गरेको थियो ।

    सो अवसरमा सांसद नवीना लामा, संविधानसभा सदस्य रामहरि सुवेदी, एमाले जिल्ला अध्यक्ष अशोक ब्याञ्जू, बागमती प्रदेशसभा सदस्यद्वय चन्द्र लामा र गोमा भुर्तेल, पार्टीका केन्द्रीय नेता रेशम लामा, नेता चुडामणि चौलागाईँ, राजन भुर्तेल, इन्द्रबहादुर तामाङ, नारायण बानियाँ, रीता ढकाललगायतले सङ्गठन निर्माणमा लाग्न आग्रह गारेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images