काठमाडौं – अझै एक साता मन्त्रिपरिषद् विस्तार नहुने भएको छ । सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजावादी) का अध्यक्ष माधवकुमार नेपालले २३ भदौसम्म मन्त्रिपरिषद् विस्तारका विषयमा कुरा नउठ्ने बताएका हुन् ।
मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा गठबन्धनभित्र छलफल भइरहेको भनिएका बेला अध्यक्ष नेपालले २३ भदौसम्म कसैले पनि मन्त्रिपरिषद् विस्तारबारे चुइँक्कसमेत नगर्ने बताएका हुन् ।
सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालले मन्त्रिपरिषद् विस्तार तत्काल नहुने संकेत गरेका हुन् । मन्त्रिपरिषद् विस्तार कहिले हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष नेपालले भने, ‘२३ गतेसम्म त कसैले पनि चुइँक्क गर्दैनन् ।’
बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीसँग भेटेका प्रचण्डलाई अध्यक्ष नेपालले भेट गरेपछि उक्त प्रतिक्रिया दिएका हुन् । मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबन्डामा कुरा मिल्न नसकेको भनिएका बेला गठबन्धनका नेताहरु निरन्तर छलफलमा जुटिरहेका छन् ।
सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले केन्द्रीय समितिका बैठक बोलाएका छन् । कांग्रेसले २८ साउनमा केन्द्रीय समिति बैठक बोलाएको छ । त्यस्तै जनता समाजवादी पार्टीले भदौ एक र दुई गते केन्द्रीय समिति बैठक बोलाएको छ । दुई पार्टीका नेताहरूले केन्द्रीय समिति बैठकभन्दा पहिला सरकारमा सहभागी मन्त्रीहरू पठाउने सम्भावना न्यून रहेको बताएका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समिति बैठक अगाडि सरकारमा सहभागी हुने सम्भावना न्यून रहेको बताए । ‘पार्टी केन्द्रीय समिति बैठक अगाडि सरकारमा सहभागी हुने सम्भावना कम छ । अहिलेसम्म मन्त्रालयको भागवण्डा पनि टुंगिएको छैन र केन्द्रीय समिति बैठक पनि आइसक्यो । त्यसमै छलफल गरेर जाउँ भन्ने हाम्रो चाहना हो,’ यादवले भने ।
एमालेको नेपाल समूह र राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी हुने निश्चित नभए पनि तीन दल सरकारमा जाने निश्चित भइसकेको छ । कांग्रेस र माओवादीका त केही मन्त्री पनि भइसकेका छन् । तर जसपा अझै सरकारमा सहभागी भएको छैन । हुन राजी छ ।
अध्यक्ष यादवले मन्त्रालयको भागवण्डा मिलिनसकेकाले तत्काल मन्त्रिपरिषद् विस्तारको सम्भावना नरहेको बताए । त्यसका लागि सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्ने तयारी भने भएको यादवको भनाइ छ । सत्ता गठबन्धनले मन्त्री र मन्त्रालय छान्ने जिम्मा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष यादवलाई दिएका छन् । यादवले मन्त्रालय भागवण्डा मिलाउन शीर्ष नेताको बैठक बोलाउने जिम्मेवारी प्रधानमन्त्रीलाई दिएको बताए । अहिलेसम्म प्रधानमन्त्रीले बैठक नबोलाएको उनको भनाइ छ ।
यता कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले पनि पार्टी केन्द्रीय समिति बैठक पछि मात्रै पार्टीबाट सरकारमा थप मन्त्री सहभागी हुने बताए । बैठकमा छलफल गरेर सबैको सुझावका आधारमा मात्रै सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टीका थप नेतालाई मन्त्रीको जिम्मेवारी दिने उनले बताए ।
असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएर पद तथा गोपनियताको शपथ लिएका देउवाले त्यसैदिन कांग्रेसबाट दुई र माओवादीबाट दुई नेतालाई मन्त्री बनाएका थिए । त्यसपछि स्वास्थ्यराज्यमन्त्री बनाए पनि अन्य मन्त्री अहिलेसम्म बनाउन नसक्दा आलोचित भइरहेका छन् । देउवाले तीन साउनमा प्रतिनिधि सभाबाट विश्वासको मत लिएका थिए ।


विश्व खबर 


















