काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो (बुधबार) प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आफ्नो दूतको रूपमा कानुनमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पठाएपछि राष्ट्रिय राजनीति तरंगित बनेको छ ।
खासगरी सत्ता गठबन्धनका दलहरूमा यो भेटले खैलाबैला नै मच्चाएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष ओलीलाइ भेट्न कार्कीलाई दूत बनाएर पठाएका हुन् । देउवाले ओलीसँग सम्बन्ध बिस्तार गर्न खोजेको थाहा पाएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरू भने सशंकित बनेका छन् ।
प्रधानमन्त्री नियुक्त भएको ५० दिनसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि सत्ता गठबन्धनमै खटपट सुरू भएको चर्चा चलिरहेका बेला देउवाले ओली भेट्न पठाउनुलाई अर्थपूर्ण मानिएको छ ।
मंगलबार बेलुका ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका मन्त्री कार्कीले ओलीसँग संसद् अधिवेशन, बजेट, एमसीसी लगायत विषयमा छलफल गरेको बताइए पनि भेटमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव गरिएको स्रोतको दाबी छ । बालुवाटारनिकट स्रोत भन्छ – ‘राष्ट्रिय सहमतिको सरकार बनाएर अर्ली इलेक्सनमा जाने सभापति देउवाको इच्छा छ । त्यसैलाई कार्यान्वयन गर्न ओलीलाई पनि सरकारमा ल्याउने प्रयासस्वरूप दूत पठाइएको हो ।’
सर्वोच्च अदालतको गत आसार २८ गतेको परमादेशबाट सत्ताच्यूत भएका ओली सत्ता गठबन्धनका कुनै पनि नेतासँग सम्पर्कमा थिएनन् । तर देउवाले भने आफ्ना दूत पठाएर सम्बन्ध सुधारको पहल गरेका हुन् ।
सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चालाई यो भेटबारे सूचना दिइएको थिएन ।
देउवाले कार्कीलाई ओलीसँग भेट्न पठाएपछि मिडियामा आएको सूचनाका आधारमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई ‘के हो रु’ भनेर सोधेका थिए ।
देउवाले ‘सामान्य कुराकानी हो, अरू केही होइन’ भनेपछि प्रचण्ड झनै सशंकित भएका छन् ।
माओवादी केन्द्रका एक नेताले भने – ‘प्रधानमन्त्रीले बिना सरसल्लाह ओलीसँग कुरा गर्न दूत किन पठाउनुभएको हो रु त्यसको खोजीनीतिमा लागेका छौं । अध्यक्ष प्रचण्डलाई खासै केही होइन भनेर भन्नुभएको रहेछ ।’
ती नेताले राष्ट्रिय सहमतिको सरकार बनाएर अर्ली इलेक्सनमा जाने कुरा छलफलमै नआएको बताए । देउवाले दल विभाजन खुकुलो हुने गरी अध्यादेश ल्याएपछि एमाले र जसपा औपचारिक रूपमा विभाजन भएका छन् । ओली नेतृत्वको एमाले भने देउवाको यो कदमप्रति रुष्ट छ ।
देउवा–ओली गठबन्धन बन्नै लागेको हो त ?
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि नजिकिन थालेपछि उनीहरुबीच गठबन्धन बनाउने प्रयास चलेको हो । विगतमा पनि यी दुई नेताबीच अघोषित गठबन्धन थियो । कतिपय राजनीतिक र संवैधानिक नियुक्तिहरुमा भद्र सहमति बनाएर बढेको घटना पनि छन् ।
अहिले फेरि देउवा र ओलीबीच गठबन्धनको पहल सुरु भएको छ । विभिन्न माध्यमले सन्देशहरु आदानप्रदान हुन थालेका छन् । देउवा फेरि ओलीलाई भरोसा गर्न सकिने निष्कर्षमा पुग्न थालेका छन् ।
देउवा र ओलीबीच गठबन्धन बन्न सक्ने खास मुद्दा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीमा पनि हो । एमसीसी संसदबाट पारित गराउने पक्षमा देउवा र ओली दुवै छन् ।
तर, सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल विपक्षमा छन् । उनीहरु संशोधनविना एमसीसी पारित गर्न नहुने पक्षमा खुलिसकेका छन् । अब ओलीको साथ विना एमसीसी पारित गर्न देउवा सफल नहुने देखिएको छ । यसकारण पनि यी दुई नेताबीच गठबन्धन बन्न सक्छ ।
देउवा र ओली धर्मबारे उठिरहेको मुद्दाको सम्बोधनको पक्षमा सकारात्मक देखिएका छन् । दुवै नेता खुलेका छैनन् तर उनीहरुको भूमिकाले त्यस्तै सन्देश दिइरहेको छ । तर, सत्ता गठबन्धनका प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्र यादव तीनैजना धर्मनीरपेक्षको रक्षाका लागि खुलेका छन् । यो विषयले पनि सत्ता गठबन्धनभित्र विस्तारै टकराव आउन सक्ने देखिएको छ । देउवा ओलीसँग नजिकिने अवस्था यसकारण पनि बन्ने सम्भावना छ ।
२०७४ सालको आमनिर्वाचन अघि प्रचण्ड र देउवाबीच गठबन्धन थियो । पछि प्रचण्ड ओलीसँग मिले । स्थानीय चुनावताका देउवासँग गठबन्धन गरेर सरकारको नेतृतव गरेका प्रचण्डले आमनिर्वाचन हुँदा ओलीसँग सहमति गरेर देउवालाई अप्ठ्यारोमा पारेका थिए । देउवा प्रचण्डले धोका दिएको भन्दै आक्रोशित पनि भए । यसपटक देउवाले पनि प्रचण्डको साथ छाडेर ओलीसँग नयाँ सहमति गर्ने सम्भावनालाई नकार्न सकिदैन । राजनीति आखिर सम्भावना खेल हो ।


विश्व खबर 


















