images
images
  • कांग्रेस सभापतिमा कल्याण गुरुङको उम्मेदवारी घोषणा

    काठमाडौ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

    बुधबार पत्रकार सम्मेलन गरेर नेता गुरुङले आसन्न १४ औ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने घोषणा गरेका हुन् । गुरुङ नेविसंघका पूर्वअध्यक्षसमेत हुन् । पार्टीमा उनी रामचन्द्र पौडेल समूहमा छन् ।

    पत्रकार सम्मेलनमा गुरुङले नेता कार्यकर्ताको मागअनुसार उम्मेदवारी दिएको र चाँडै आफ्नो टिम सार्वजनिक गर्ने बताए । यसअघि कांग्रेस सभापतिमा उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् । उनले सम्पर्क कार्यालयसमेत खोलिसकेका छन् । महामन्त्रीमा गगन थापाले उम्मेदवारी घोषणा गरेका छन् ।

    वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एकपटक नेतृत्वमा दोहोरिने इच्छा देखाएका छन्। महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ । कांग्रेस केन्द्रीय महाधिवेशन ९-१३ मंसिरसम्म हुनेछ । वडा र पालिका तहको भने यसै महिना सम्पन्न हुँदैछ ।

    यसकारण कांग्रेस सभापतिमा मेरो उम्मेदवारी : गुरुङ

    नेविसंघका पूर्वअध्यक्षसमेत रहेका ५१ वर्षीय गुरुङले युवाहरुको प्रतिनिधित्व गर्दै आफूले उम्मेदवारी दिएको र जित्ने दाबी गरे ।

    २०४८ सालमा जो नेतृत्वमा थिए ३० वर्षपछि पनि उनीहरु नै नेतृत्वमा बसिरहेको भन्दै गुरुङले नयाँ पुस्ताको नेतृत्व गर्दै आफू अघि सरेको बताए । ‘शासन व्यवस्थामा परिवर्तन आयो । तर नेतृत्वको सोंचमा परिवर्तन आएन । ६० वर्ष माथिको २० जना पार्टी नेतृत्वका आकांक्षी छन् । कम्तिमा पनि १० जना युवा आकांक्षी हुनुपर्छ,’ उनले भने, ‘बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहले युवा अवस्थामा पार्टी र सरकारको नेतृत्व गरेको कांग्रेसमा अहिले पनि पुरानै पुस्ता नेतृत्व गरिरहेको छ । नयाँ पुस्ता पार्टी र देशको नेतृत्व गर्न सक्षम छ त्यसैले मेरो उम्मेदवारी हो।’

    गुरुङले नयाँ पुस्ताले नेतृत्व लिनुपर्छ भन्ने आम मानिसको माग रहेको र ८० प्रतिशत क्रियाशील सदस्य युवा भएकाले आफूले उम्मेदवारी दिएको दोहोर्‍याए । उनले आफू सभापति भएमा सबै समुदायलाई समेटेर समावेशी पार्टी बनाउने दाबी गरे । ‘सबैले अवसर पाउने, सबैलाई न्याय हुने पार्टी बनाउँछु,’ उनले भने ।

    गुरुङले एक व्यक्तिमात्रै पटक पटक मन्त्री, सांसद र पार्टी पदमा रहिरहने व्यवस्था पनि फेर्ने बताए । ‘समानुपातिक सांसद एकपटक मात्र बन्न पाउने, दुई पटकमात्र मन्त्री हुन पाउने, दुई पटकमात्र प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्था पार्टीको विधानमा व्यवस्था गर्छु । एक व्यक्ति पार्टीको वडा सभापतिदेखि केन्द्रीय सदस्यसम्म दुई पटकमात्र पदमा बस्न पाउने विधानमै व्यवस्था गर्छु,’ उनले भने ।

    गुरुङले स्थानीय तहमा ५० प्रतिशत महिला प्रमुख र ५० प्रतिशत महिला उपप्रमुख हुने संवैधानिक व्यवस्थाका लागि पहल गर्ने बताए । ‘सभापति भएर पार्टीको नेतृत्वमा सरकार बने शिक्षामा सबैको पहुँच, अनिवार्य र नि:शुल्क शिक्षा, सबै निजी अस्पताललाई राष्ट्रियकरण गरेर सबै नागरिकलाई नि:शुल्क गुणस्तरीय शिक्षा प्रदान गर्छु,’ उनले भने ।

    सभापति बनेर सरकारको नेतृत्व गर्ने अवसर पाए ६ महिनाभित्र भ्रष्टाचारमुक्त देश बनाउन पहल गर्ने गुरुङको भनाइ थियो । त्यसका लागि कडाभन्दा कडा कानुन बनाउने उनले उल्लेख गरे । १३ औं महाधिवेशनमा भाग लिन नपाएका क्रियाशील सदस्यहरु अहिलेको पदाधिकारीप्रति असन्तुष्ट रहेको भन्दै उनीहरुले मत आफूले पाउने र युवाको संख्या पार्टीमा धेरै भएकाले आफूले जित्ने गुरुङको दाबी छ ।

    गुरुङ पार्टीमा उनी रामचन्द्र पौडेलनिकट मानिन्छन् । उनले चाँडै आफ्नो टिम सार्वजनिक गर्ने पनि बताए । यसअघि कांग्रेस सभापतिमा लड्न उपसभापति विमलेन्द्र निधिले सम्पर्क कार्यालय खोलिसकेका छन् । महामन्त्रीमा गगन थापाले उम्मेदवारी घोषणा गरेका छन् ।वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नै फेरि नेतृत्वमा दोहोरिन उम्मेदवारी दिने मनस्थितिमा रहेको बताइन्छ । महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images