images
images
  • कोप–३१ मा कार्बन व्यापारको अभिलेख राख्ने अन्तरराष्ट्रिय ‘रजिस्ट्री’ सार्वजनिक

    टर्किए– पेरिस सम्झौताको धारा ६.२ अन्तर्गत अन्तरराष्ट्रिय रूपमा हस्तान्तरण हुने कार्बन न्यूनीकरण परिणामको अभिलेख तथा अनुगमन गर्ने अन्तरराष्ट्रिय ‘रजिस्ट्री’को पहिलो संस्करण सार्वजनिक गरिएको छ ।

    टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१)का अवसरमा आज उक्त रजिस्ट्री सार्वजनिक गरिएको हो ।

    आफ्नै रजिस्ट्री नभएका वा त्यसमा पहुँच स्थापित गर्न नसकेका देशलाई लक्षित गरी तयार गरिएको यस प्रणालीले देशहरूबीच हस्तान्तरण हुने हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणका परिणाम (आइटिएमओ)को अभिलेख राख्न र अनुगमन गर्न सहयोग गर्नेछ ।

    यस प्रणालीमार्फत सहभागी देशले न्यूनीकरणसम्बन्धी गतिविधि अभिलेख गर्ने, न्यूनीकरण परिणाम जारी गर्ने, त्यसलाई सम्बन्धित सरकारी अनुमतिसँग जोड्ने तथा त्यस्ता परिणामको हस्तान्तरण, प्राप्ति, प्रयोग र खारेजीको विवरण राख्न सक्नेछन् ।

    देशहरूले न्यूनीकरण परिणामलाई एकाइका रूपमा जारी गरी पहिलो अन्तरराष्ट्रिय हस्तान्तरण नहुँदासम्म सुरक्षित राख्न रजिस्ट्रीको थप सेवा पनि लिन सक्नेछन् ।

    पहिलो पटक अन्तरराष्ट्रिय हस्तान्तरण भएपछि त्यस्ता परिणाम अन्तरराष्ट्रिय रूपमा हस्तान्तरण गरिएका न्यूनीकरण परिणाम (आइटिएमओ)का रूपमा अभिलेख हुनेछन् ।

    पेरिस सम्झौताको सर्वोच्च निर्णय गर्ने निकाय (सिएमए)ले व्यवस्था गरेका यी सेवा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सचिवालयले विकास तथा सञ्चालन गरिरहेको छ ।

    प्रारम्भिक चरणमा रजिस्ट्रीमा आबद्ध हुन अनुरोध गर्ने देशलाई चरणबद्ध रूपमा पहुँच उपलब्ध गराइनेछ ।

    यसका लागि सन् २०२७ को सुरुआतमा कार्यशाला आयोजना गरी त्यसपछि तालिम र प्रणाली परीक्षण गरिनेछ ।

    त्यसपछि मात्र देशहरूलाई वास्तविक प्रणालीमा पहुँच दिइने अपेक्षा गरिएको छ ।

    आगामी संस्करणमा राष्ट्रिय रजिस्ट्री तथा पेरिस सम्झौताको ‘क्रेडिटिङ’ संयन्त्रअन्तर्गतको रजिस्ट्रीसँग तथ्याङ्क आदानप्रदान गर्न मिल्ने सुविधा र प्रतिवेदन प्रणालीसमेत थप गरिने जनाइएको छ ।

    रजिस्ट्रीको ‘सफ्टवेयर’ विकास सन् २०२६ जनवरीमा सुरु भएको थियो ।

    यसको प्रारम्भिक सञ्चालनयोग्य संस्करण सन् २०२६ मेमा देशहरूलाई प्रस्तुत गरिएको थियो ।

    देशहरूले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी आफ्नो राष्ट्रिय सम्पर्क निकायमार्फत अन्तरराष्ट्रिय रजिस्ट्रीमा आबद्ध हुन र छुट्टै खण्ड खोल्न अनुरोध गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images