images
images
  • टरेको छैन इरान-अमेरिका युद्ध, मध्यपूर्वका धेरै देशमा अशान्ति

    काठमाडौं– कुवेतको सेनाले आफ्नो देशमा ड्रोन आक्रमण भइरहेको जनाएको छ । अमेरिका र इरानबिच एक अर्कामाथि आक्रमण जारी रहेका बेला यस घटनाले क्षेत्रमा तनाव थप चुलिएको छ । दुई देशबिच शान्ति सम्झौताको सम्भावना अझै अनिश्चित छ।

    मंगलबार सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा कुवेती सेनाले भनेको छ, ‘सुनिएका कुनै पनि विस्फोटका आवाज शत्रुतापूर्ण आक्रमणलाई हवाई प्रतिरक्षा प्रणालीले निष्क्रिय पार्ने क्रममा उत्पन्न भएका हुन्।’

    यसअघि अमेरिकाले स्ट्रेट अफ हर्मुजस्थित इरानको दक्षिणी टापु केशममा कैयौँ आक्रमण गरेको थियो । त्यसको केही घण्टाअघि इरानले बहराइनमा रहेको अमेरिकी रडार प्रणालीलाई लक्षित गरी ड्रोन आक्रमण गरेको जनाएको थियो ।

    इरानको दक्षिणी होर्मोजगान प्रान्तका उपगभर्नर अहमद नफिसीले मंगलबार सरकारी समाचार संस्था इर्नालाई बताएअनुसार केशम टापुमा अमेरिकी आक्रमणबाट आवासीय, व्यापारिक वा पूर्वाधार क्षेत्रमा कुनै क्षति पुगेको छैन ।

    उनले अवस्था नियन्त्रणमा रहेको र उद्धार तथा राहत निकायहरूलाई उच्च सतर्कतामा राखिएको बताए। इर्नाका अनुसार मंगलबार साँझ टापुमा पाँचदेखि छ वटा विस्फोट भएका थिए ।

    अमेरिकी सेनाका एक अधिकारीले अलजजिरालाई बताएअनुसार इरानले बहराइनस्थित अमेरिकी सैन्य अखडामा गरेको यसअघिको आक्रमणको जवाफमा केशममा रहेको क्षेप्यास्त्र प्रक्षेपण केन्द्रलाई लक्षित गरी अमेरिकाले आक्रमण गरेको हो ।

    अमेरिकी सेनाको सेन्ट्रल कमान्डले बहराइनस्थित एक हवाई सैन्य अखडामा रहेको अमेरिकी रडार प्रणालीलाई लक्षित गरी इरानले प्रहार गरेका ड्रोनहरू बिचैमा निष्क्रिय पारिएको जनाएको छ । आक्रमणबाट अमेरिकी उपकरण वा सैन्य कर्मचारीमा कुनै क्षति नभएको उसको भनाइ छ ।

    बहराइनमा आक्रमण

    इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनस्थित शेख इसा हवाई सैन्य अखडामा रहेको अमेरिकाद्वारा सञ्चालित रडार प्रणालीलाई लक्षित गरी ड्रोनमार्फत ‘लक्षित सैन्य कारबाही’ गरेको जनाएको छ।

    अमेरिकी सैन्य ड्रोनहरूले इरानी हवाई क्षेत्रको पटक–पटक उल्लङ्घन गरेको भन्दै त्यसको जवाफमा उक्त कारबाही गरिएको आईआरजीसीको भनाइ छ ।

    अमेरिकी नौसेनाको पाँचौँ फ्लीटको मुख्यालय रहेको बहराइनले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले आक्रमणलाई निष्क्रिय पारेको जनाएको छ । एएफपी समाचार संस्थाका अनुसार बहराइनको राजधानी मनामाको आकाशमा विस्फोटका आवाजसमेत सुनिएका थिए ।

    केही साताको शान्तिपछि पाँच दिनभित्र बहराइनमाथि इरानले गरेको यो तेस्रो ड्रोन आक्रमण हो । एएफपीका अनुसार शुक्रवारको आक्रमण सेप्टेम्बरको सुरुदेखि खाडी क्षेत्रका कुनै पनि मुलुकमाथि इरानले गरेको पहिलो आक्रमण थियो । रोयटर्सका अनुसार बहराइनको एक अदालतले इरानसँग मिलेर षड्यन्त्र गरेको आरोपमा ६४ जनालाई, जसमध्ये अधिकांश सिया धर्मगुरु थिए, जन्मकैदको सजाय सुनाएपछि उक्त आक्रमण भएको थियो ।

    कुवेतको सशस्त्र सेनाले मंगलबार राति आफ्नो हवाई प्रतिरक्षा प्रणाली ‘शत्रुतापूर्ण ड्रोन आक्रमण’को प्रतिकारमा सक्रिय रहेको जनाएको छ । सेनाले सर्वसाधारणलाई सुरक्षा निर्देशन पालना गर्न आग्रहसमेत गरेको छ।

    तर, ड्रोन कहाँबाट आएका थिए, आक्रमणमा कोही हताहत भए वा कुनै भौतिक क्षति पुग्यो भन्नेबारे सेनाले केही खुलाएको छैन ।

    हर्मुजमा तेल ट्याङ्करमाथि आक्रमण

    इरानको सशस्त्र सेनाले मंगलबार स्ट्रेट अफ हर्मुज पार गर्ने क्रममा तीन वटा तेल ट्याङ्कर समुद्री बारुदी सुरुङमा ठोक्किएको जनाएको छ । तर, अमेरिकी सेनाले भने उक्त जलमार्गका मुख्य मार्गहरूबाट बारुदी सुरुङ हटाइसकेको दाबी गरेको छ ।

    फेब्रुअरी २८ मा युद्ध सुरु भएयता इरानले स्ट्रेट अफ हर्मुज हुँदै हुने जल यातायात नियन्त्रण गर्ने प्रयास गर्दै आएको छ । विश्वको कुल तेल आपूर्तिको करिब पाँच भागको एक भाग यही जलमार्ग हुँदै ओसारपसार हुन्छ। इरानले आफूले अनुमति दिएका मार्गबाट मात्रै जहाज सञ्चालन हुनुपर्ने अडान राख्दै आएको छ ।

    यसको जवाफमा अमेरिकाले इरानी बन्दरगाहहरूमा नौ सैनिक नाकाबन्दी लगाउनुका साथै तेल ट्याङ्करहरूलाई सैन्य सुरक्षा प्रदान गर्दै आएको छ ।

    यसैबिच, पानामाको झन्डा बोकेको अर्को ट्याङ्कर ‘तारा ग्यास’ सोमबार ओमानको खासाबबाट करिब सात समुद्री माइल उत्तरमा आक्रमणमा परेको थियो। सुरक्षा कम्पनी भ्यान गार्डका अनुसार आक्रमणपछि जहाजको इन्जिन कक्षमा आगलागी भएको थियो ।

    भ्यान गार्ड र भारतका बन्दरगाह मन्त्रीले सुरुमा जहाजमा रहेका सबै २५ जना चालक दलका सदस्य सुरक्षित रहेको बताएका थिए। तीमध्ये २४ जना भारतीय नागरिक थिए ।

    तर बेलायतको युनाइटेड किङडम मेरिटाइम ट्रेड अपरेसन (यूकेएमटीओ) निकायले जहाजमाथि दोस्रो पटक पनि आक्रमण भएको र चालक दलका सदस्यहरू ‘हाल सम्पर्कविहीन’ रहेको जनाएको थियो ।

    त्यसपछि भारतका बन्दरगाह मन्त्रीले दोस्रो आक्रमणपछि चालक दलका सदस्यहरूले जहाज छाडेको र एक भारतीय नाविक अझै बेपत्ता रहेको जानकारी दिए ।

    यसैगरी पानामाको झन्डा बोकेको अर्को तेल ट्याङ्कर ‘अन फिनिक्स’ पनि सोमबार ओमानको तटबाट केही पर अज्ञात वस्तुको आक्रमणमा परेको थियो ।

    कूटनीतिक प्रयास जारी

    इरानका विदेशमन्त्री अब्बास अराघची र ओमानका विदेशमन्त्री बद्र अलबुसैदीले ओमानको राजधानी मस्कटमा भेटवार्ता गर्दै समुद्री यातायातको सुरक्षा र कूटनीतिक समाधानका विकल्पबारे छलफल गरेका छन्। ओमानका समाचार संस्थाहरूले यसको जानकारी दिएका हुन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनमा चिनियाँ राष्ट्रपति सी जीनपिङ र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग त्रिपक्षीय शिखर सम्मेलन गर्ने कार्यक्रम छ। उक्त सम्मेलनको कार्यसूचीमा इरान युद्ध पनि समावेश रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images