काठमाडौं – मुगु जिल्ला सदरमुकाम गमगढी बजारमा नियमित खानेपानी आपूर्ति नहुँदा स्थानीय बासिन्दाले लामो समयदेखि सास्ती भोग्दै आएका छन् । खानेपानीको मुहानदेखि बजारसम्म ल्याइएको पाइपलाइन जीर्ण हुनु र उचित व्यवस्थापन हुन नसक्दा बजारवासीका धारामा नियमित पानी आउन छाडेको हो ।
छायाँनाथ रारा नगरपालिका–८ स्थित झ्यारी खोलाको चुल्ठी मुहानबाट गमगढी बजारमा खानेपानी ल्याइएको छ । तर, पाइपलाइनको अवस्था जीर्ण हुनु र मर्मतसम्भारमा ध्यान नदिइँदा अहिले बजारमा एक दिन पानी आउने र दुई दिन बन्द हुने अवस्था छ । यसले स्थानीय बासिन्दाको दैनिक जनजीवन प्रभावित भएको छ ।
नियमित खानेपानी आपूर्ति नहुँदा बजारवासी मात्र नभई डेरामा बस्ने विद्यार्थी, सरकारी कार्यालयका कर्मचारी, होटल व्यवसायी तथा विभिन्न कामले सदरमुकाम आउने सेवाग्राहीसमेत प्रभावित भएका छन् । दैनिक उपभोगका लागि आवश्यक पानी जुटाउनै कठिन हुन थालेपछि स्थानीयले खानेपानीको अभावलाई गम्भीर समस्याका रूपमा लिन थालेका छन् ।
गमगढीमा अहिले खानेपानी अमृतसरह बनेको स्थानीयको गुनासो छ । पानीको अभावले सामान्य सरसफाइ गर्नसमेत कठिन भएको स्थानीय दल रावत बताउँछन् । ‘अहिले गमगढीमा पानी अमृतसरह भएको छ, हात धोए मुख धुन पुग्दैन, तिर्खा मेट्नै गाह्रो छ,’ उनले भने ।
यसैबीच, सदरमुकाममा खानेपानीको अभाव भइरहेका बेला उद्योग वाणिज्य सङ्घ मुगुका अध्यक्ष कमल बुढाले व्यक्तिगत लगानीमा सार्वजनिक धारा निर्माण गरिदिएका छन् । उनले आफ्नै खर्चमा पानीको पाइपलाइन विस्तार गरी आफ्नो घरको आँगनमा चौबिसै घण्टा पानी आउने व्यवस्था मिलाएका हुन् । उनको यो पहलबाट स्थानीय बासिन्दालाई केही राहत मिलेको छ । स्थानीयका अनुसार उक्त सार्वजनिक धारा नभएको भए बजारमा खानेपानीको अभाव अझै विकराल बन्न सक्थ्यो ।
अर्कोतर्फ, लामो समयदेखि खानेपानीको समस्या समाधान हुन नसक्नुमा गमगढी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र सम्बन्धित सरोकारवाला निकायको लापरबाही रहेको स्थानीयले आरोप लगाएका छन् । सरकारले खानेपानी योजनाका लागि बर्सेनि बजेट विनियोजन गर्ने गरे पनि प्रभावकारी काम हुन नसकेको उनीहरूको गुनासो छ । योजनामा बजेट खर्च हुने तर उपभोक्ताले स्वच्छ र नियमित पानी पिउन नपाउने अवस्था किन कायम छ भन्ने प्रश्नसमेत स्थानीयले उठाएका छन् ।
बजारवासीले गमगढी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र सम्बन्धित निकायलाई मुहानदेखि बजारसम्मको जीर्ण पाइपलाइन तत्काल मर्मत गर्न तथा खानेपानी आपूर्तिलाई नियमित बनाउन माग गरेका छन् । सदरमुकामजस्तो प्रमुख प्रशासनिक तथा व्यापारिक केन्द्रमै आधारभूत खानेपानी सुविधा सुनिश्चित हुन नसक्नुले खानेपानी व्यवस्थापन र योजनाको कार्यान्वयनमाथि प्रश्न उठाएको छ ।
–जनआस्था






















