images
images
  • सार्क चेम्बरको पर्यटन समितिको संयोजकमा चन्द्रप्रसाद ढकाल चयन

    काठमाडौं – सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) को पर्यटन समितिको संयोजकमा नेपालका व्यवसायी चन्द्रप्रसाद ढकाल चयन भएका छन् । माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले ढकाललाई उक्त जिम्मेवारी प्रदान गरेको हो ।

    नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका ढकाल आइएमई समूहका अध्यक्ष हुन् । उनी चन्द्रागिरि हिल्सलगायत नेपालका सातवटै प्रदेशमा पर्यटन पूर्वाधार विकास तथा स्वदेशी ‘इला’ होटल चेन ब्रान्डको प्रवर्द्धन र लगानीमा संलग्न छन् ।

    नयाँ जिम्मेवारीपछि ढकालले दक्षिण एसियाको पर्यटन सम्भावनालाई विश्व बजारमा स्थापित गर्न क्षेत्रीय सहकार्य, पूर्वाधार विकास र लगानी विस्तारलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। दक्षिण एसियाको भौगोलिक बनावट र सांस्कृतिक विविधता विश्वमै विशिष्ट रहेको उल्लेख गर्दै उनले यस क्षेत्रलाई विश्वकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने धारणा राखेका छन् ।

    सगरमाथासहितका हिमशृङ्खला, हिन्द महासागरका टापु, विशाल समुद्री तट, जंगल, मरुभूमि तथा धार्मिक र ऐतिहासिक सम्पदाले दक्षिण एसियामा पर्यटनको ठूलो सम्भावना रहेको उनको भनाइ छ । विश्वको करिब एक चौथाइ जनसङ्ख्या बसोबास गर्ने दक्षिण एसिया आफैँमा विशाल आन्तरिक पर्यटन बजार भएकाले यसको सम्भावना उपयोग गर्न क्षेत्रीय स्तरमा पर्यटन पूर्वाधारको स्तरोन्नति र लगानी विस्तार आवश्यक रहेको उनले बताएका छन् ।

    ढकालले दक्षिण एसियाका प्रतिष्ठित होटल तथा आतिथ्य ब्रान्डहरूलाई एकअर्काको देशमा विस्तार गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्। अन्तरदेशीय लगानीले पुँजीसँगै ज्ञान, सीप र प्रविधिको आदानप्रदानलाई समेत प्रोत्साहन गर्ने उनको भनाइ छ । नेपालमा पनि सार्क राष्ट्रका लगानीकर्ता तथा स्थापित होटल चेनहरूलाई पर्यटन पूर्वाधारमा आकर्षित गर्न सकिने उनले उल्लेख गरेका छन् ।

    क्षेत्रीय पर्यटन प्रवर्द्धनका लागि ‘सार्कभित्रै घुमौँ’ भन्ने अवधारणासहित अन्तरक्षेत्रीय पर्यटन अभियान सञ्चालन गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्। विभिन्न देशका पर्यटकीय गन्तव्य समेटेर साझा पर्यटन सर्किट र प्याकेज निर्माण गर्न सके धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा साहसिक पर्यटनको आदानप्रदान बढाउन सकिने उनको धारणा छ ।

    त्यसैगरी, क्षेत्रीय पर्यटन विकासका लागि सहज हवाई तथा स्थलमार्गको पहुँच विस्तारलाई उनले महत्त्वपूर्ण आधारका रूपमा औँल्याएका छन्। सार्क राष्ट्रका प्रमुख सहरहरूबीच सीधा हवाई सम्पर्क विस्तार गर्न सके पर्यटक, व्यवसायी तथा लगानीकर्ताको आवागमन सहज हुने उनको विश्वास छ । नेपालका अन्तर्राष्ट्रिय विमानस्थललाई पनि सार्कका प्रमुख पर्यटकीय गन्तव्यसँग सीधा हवाई सम्पर्कमा जोड्नुपर्ने उनले बताएका छन् ।

    दक्षिण एसियाको साझा पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै ढकालले नीतिगत समन्वय तथा व्यावसायिक साझेदारी विस्तारमा सार्क चेम्बरजस्ता क्षेत्रीय संस्थाले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् । उनले क्षेत्रीय पर्यटन विकास र समृद्धिका लागि परिणाममुखी भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images