images
images
  • रूसी संदिग्ध विमान जापानी हवाई क्षेत्रमा प्रवेश

    टोकियो– दुई संदिग्ध रूसी सैन्य विमानले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेपछि जापानले लडाकू विमान परिचालन गर्दै रूससँग कडा विरोध जनाएको छ ।

    जापान सरकारका प्रवक्ता मिनोरू किहाराका अनुसार मङ्गलबार बिहान फुकुओकाको दक्षिणपश्चिममा पर्ने ओकिनोसिमा टापुनजिकै रूसी विमान जापानी हवाई क्षेत्रमा प्रवेश गरेका थिए ।

    त्यसपछि जापानको आत्मरक्षा बलले ती विमानलाई चेतावनी दिन लडाकू जेट परिचालन गरेको थियो ।

    किहाराले हवाई क्षेत्रको उल्लङ्घन जापानको सार्वभौमिकता र सुरक्षामाथिको गम्भीर खतरा भएको बताउँदै यस्तो गतिविधि अस्वीकार्य रहेको उल्लेख गरे ।

    उनले कूटनीतिक माध्यमबाट रूससँग कडा विरोध जनाइएको र घटना नदोहोर्‍याउन माग गरिएको जानकारी दिए ।

    यसैबीच, दक्षिण कोरियाले पनि आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी विमानको निगरानीका लागि लडाकू जेट परिचालन गरेको जनाएको छ ।

    यद्यपि, रूसी विमानले दक्षिण कोरियाको सार्वभौम हवाई क्षेत्र उल्लङ्घन नगरेको सियोलले स्पष्ट पारेको छ ।

    जापान र रूसबीच प्रशान्त महासागरका विवादित टापुको स्वामित्वलाई लिएर दशकौँदेखि तनाव रहँदै आएको छ ।

    युक्रेन युद्धपछि जापानले रूसविरुद्ध अन्तर्राष्ट्रिय प्रतिबन्धमा सहभागिता जनाएसँगै सम्बन्ध थप बिग्रिएको हो ।

    गत अगस्टमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विवादित कुरिल टापुको भ्रमण गरेको तथा त्यहाँबाट क्षेप्यास्त्र परीक्षण गर्ने रूसको घोषणाप्रति पनि जापानले विरोध जनाएको थियो । –रासस/एएफपी

    प्रतिक्रिया दिनुहोस्
    images
    images