images
images
  • जब्दीघाटमा ६७ करोडको नयाँ पुल बन्ने, ४२ महिनाभित्र निर्माण सक्ने सम्झौता

    काठमाडौं –  बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने पुल निर्माणका लागि सडक डिभिजन कार्यालय नेपालगञ्ज र चितवनको एमआर एन्ड ग्रुपबीच सम्झौता भएको हो । सडक डिभिजन कार्यालयका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर नरेन्द्रप्रसाद भट्टका अनुसार गत कात्तिक १६ गते भएको सम्झौताअनुसार निर्माण कम्पनीले ४२ महिनाभित्र पुल निर्माण सम्पन्न गर्नुपर्नेछ ।

    ६७ करोड ४५ लाख ६९ हजार १५० रुपैयाँ लागतमा निर्माण हुने पुल दुई लेनको हुनेछ । पुलको लम्बाइ ४२० मिटर र चौडाइ ११ मिटर रहनेछ । निर्माण कम्पनीले सम्झौता भएको नौ महिनाभित्र माटो परीक्षण प्रतिवेदन पेस गर्नुका साथै पुलको डिजाइन स्वीकृत गराउनुपर्नेछ ।

    सडक डिभिजन कार्यालय नेपालगञ्जले २०८३ असारमा पुल निर्माणका लागि ठेक्का आह्वान गरेको थियो । ठेक्का प्रक्रियामा चार निर्माण व्यवसायीले प्रतिस्पर्धा गरेकामा प्राविधिक तथा आर्थिक प्रस्तावको मूल्याङ्कनपछि एमआर एन्ड ग्रुप छनोट भएको कार्यालयले जनाएको छ ।

    बर्दिया क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारुले पुल निर्माणको काम यथाशीघ्र सुरु गरी निर्धारित समयमै सम्पन्न गर्नुपर्ने बताएका छन् । उक्त पुल बारबर्दिया नगरपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गको रम्मापुर चोकदेखि जयनगर बजार हुँदै जिल्ला सदरमुकाम गुलरिया र वडा नं १० स्थित नेपाल–भारत सीमानाका रजनवास जोड्ने प्रमुख सडकखण्डमा पर्छ ।

    पूर्व–पश्चिम राजमार्गबाट जयनगर बजार हुँदै गुलरिया तथा भारत आवतजावत गर्ने स्थानीयवासी र यात्रुले लामो समयदेखि सास्ती भोग्दै आएका छन् । पुल नहुँदा आवागमन प्रभावित हुनुका साथै स्थानीयवासीले जोखिम मोलेर नदी वारपार गर्नुपर्ने बाध्यता छ ।

    पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको जब्दीघाटको पुरानो पुल हस्तान्तरण नहुँदै २०७२ सालको बाढीले भासिएको थियो । पुल भासिएपछि ठूला सवारीसाधनको आवागमन बन्द भए पनि पैदलयात्री, मोटरसाइकल र अटोरिक्साजस्ता साना सवारीसाधन भने सञ्चालन हुँदै आएका थिए । तर, २०७९ सालको बाढीले पुलका चारवटा मुख्य पिलर जोड्ने तीनवटा स्ल्याब बगाएपछि आवागमन पूर्ण रूपमा बन्द भएको इन्जिनियर भट्टले बताए ।

    बारबर्दिया नगरपालिका–११ फच्कहवाकी मेनका चौधरीका अनुसार पुलका स्ल्याब बगाएपछि स्थानीयवासीले शुल्क तिरेर डुङ्गा वा काठे पुलबाट नदी वारपार गर्नुपर्ने अवस्था छ । नयाँ पुल निर्माणको ठेक्का सम्झौता भएपछि वर्षौंदेखिको सास्ती अन्त्य हुने आशा पलाएको उनले बताइन् ।

    बर्खायाममा बबई नदीमा बाढी आउँदा नदी वारपार गर्न झनै कठिन हुने गरेको छ । पुल नहुँदा गुलरिया नगरपालिका–४ का बासिन्दा सदरमुकाम पुग्न करिब १० किलोमिटर घुमेर जानुपर्ने वा जोखिम मोलेर डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यतामा छन् । शुल्क तिरेर नदी वारपार गर्नुपर्दा थप आर्थिक भारसमेत पर्ने गरेको स्थानीय राममिलन चौधरीले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images